
काठमाडौं । गत असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी पुर्याउने समय सीमा बमोजिम ८ जीवन बीमा कम्पनीमध्ये ३ वटाले मात्र पुर्याएका छन् । कम्पनीले सार्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सले मात्र तोके बमोजिम चुक्ता पुँजी पुर्याएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६० लाख ६० हजार छ । त्यस्तै एसियन लाइफले २ अर्ब १ करोड ७ लाख ६० हजार चुक्ता पुँजी कायम गरेको छ भने नेसनल लाइफ ३ अर्ब ७४ लाख ४० हजार पुर्याउन सफल भएको छ ।
असार मसान्तपछिको अवस्थाामा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पनि तोके बमोजिम चुक्ता पुँजी कायम गरेको छ । कम्पनीले साउन २४ गते वार्षिक साधारणसभा सम्पन्न गरी आव २०७४/०७५ को मुनाफाबाट ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले निर्धारित चुक्ता पुँजी पुर्याएको हो । उक्त बोनसपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ९९ लाख ५९ हजार पुगेको छ ।
हालसम्म सबैभन्दा कम चुक्तापुँजी राष्ट्रिय बीमा संस्थानको छ । १८ करोड १० लाख चुक्ता पुँजी रहेको संस्थानले पुँजी वृद्धिका लागि बोनस, हकप्रद शेयर र आईपीओको बाटो रोजेको छ । आव २०७४/०७५ मा संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व कायम भएपछि हुने चुक्ता पुँजी ४५ करोड ८५ लाखको १ बराबर ३ दशमलव ३७ को अनुपातमा १ अर्ब ५४ करोड ५१ लाख ४५ हजार बराबरको हकप्रद शेयर जारी गर्ने योजना संस्थानको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने तयारीमा संस्थान रहेको हो ।
हकप्रदपश्चात् संस्थानको चुक्तापुँजी २ अर्ब ३६ लाख ४५ करोड पुग्नेछ । संस्थानले बीमांकीय मूल्यांकनबाट प्रक्षेपित अनुमानित बोनस शेयरमा थपघट हुन गएमा हकप्रद शेयर प्रतिशतमा पनि हेरफेर हुन सक्ने बताएको छ । गत कात्तिक १७ गतेको ३०औं वार्षिक साधारणसभाबाट आव २०६५/०६६ सम्मको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको संस्थानले त्यसपछिको वार्षिक साधारणसभा गर्न सकेको छैन ।
हाल ९२ करोड ९४ लाखभन्दा बढी चुक्तापुँजी रहेको गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । साउन २० गते कम्पनीले बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको हो । यो हकप्रदपश्चात् गुराँसले तोकेबमोजिम चुक्तापूँजी कायम गर्नेछ । सूर्या लाइफले भदौ ८ गतेदेखि ७० प्रतिशत हकप्रद जारी गर्दैछ । उक्त हकप्रदपश्चात् कम्पनीको पनि तोकेबमोजिम चुक्ता पुँजी पुग्ने देखिन्छ ।
प्राइम लाइफले भने अघिल्लो आव २०७४/०७५ को वार्षिक साधारणसभा गर्न सकेको छैन । हाल १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार चुक्तापुँजी रहेको यस कम्पनीलाई तोकेबमोजिम पूँजी कायम गर्न २१ करोड ५१ लाख ६५ हजार थप पुँजी आवश्यक छ । बीमा समितिले जीवन बीमा कम्पनीको हकमा २ अर्ब चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । पुराना ९ जीवन बीमा कम्पनीले भने बोनस शेयर र हकप्रदमार्फत पुँजीवृद्धि योजना अघि सारेका थिए । नयाँ १० जीवन बीमा कम्पनीले पनि सञ्चालनपूर्व नै सर्वसाधारणलाई आईपीओ जारी गरी तोकेबमोजिम चुक्तापुँजी कायम गर्ने शर्तमा स्वीकृति पाएका हुन् । कतिपय नयाँ जीवन बीमा कम्पनी आईपीओका लागि साधारणसभामार्फत प्रस्ताव पारित गरी प्रक्रियामा गइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस