काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता रू. १ हजार २१५ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २१ लाख रहेको छ ।
लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि मंसिर ४ गते आइतवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्ने भएका हुन् ।
कम्पनीले सभा होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे सभा गर्ने तयारी गरेको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले प्रतिकित्ता रू. ६५० का दरले नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस