काठमाडौं । अर्थमन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले राजस्व संकलनमा अहिले सरकार इतिहासकै कठिन घडीमा रहेको बताएका छन् । बुधबार आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०७९ को समापन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
साथै उनले एक अर्कालाई दोषारोपण नगरी सहयात्रीका रूपमा अगाडि बढ्न आवश्यक रहेको बताए । उनले भने, ‘सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । सम्पूर्ण क्षेत्रका व्यक्तिगत र व्यवसायीहरुले सामूहिकरुपमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ ।’
उनले राजस्व संकलनमा इतिहास कै कठिन घडीमा रहेको र राजस्व विभाग र करदाताबीचको सहयात्रीका रुपमा अगाडी बढ्न आवश्यक रहेको बताए । साथै उनले राजस्व संकलनमा भएको संकुचनले समग्र वित्तीय क्षेत्रमा असर परेको बताए । उनले भने, ‘गत वर्षको तुलनामा राजस्व संकलनमा २० प्रतिशतले कमि आएको छ यसले देशको आर्थिक स्थितिलाई संकुचित गरेकेो छ ।’ कार्यक्रममा बोल्दै उनले करदातालाई कर तिर्न अनुकरल वातावरण सिर्जना गर्न र करदातामैत्री वातावरण सिर्जना गर्न समेत आग्रह गरे ।
यता, अर्थमन्त्रालयका अर्थसचिव कृष्णहरि पुष्करले भने राजस्व संकलनमा आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र होइन । अन्तर्राष्ट्रिय स्तरमा पनि आर्थिक संकुचन रहेको छ । नेपालले लिएको अर्थनीतिहरु अग्रगतिका नै छन् । कर्मचारी र करदाताको मनोबललाई गिराउन आवश्यक छैन । तर हाल अबलम्बन गरिहेको नीतिलाई केही मात्रामा सुधारको आवश्यक छ ।’
साथै उनले आगामी मौद्रिक नीतिको समिक्षामा उद्योगी व्यवसायीका मागलाई संम्बोधन गर्ने बताए । यसका साथै करदाताको मानसिकता र प्रणाली परम्परागत रहेकोले यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै अर्थसचिव पुस्करले करको दायरा र करको दरको सुधार गर्न अर्थमन्त्रालय तयार रहेको समेत बताए । उनले भने, ‘राजस्व संकलनमा सुधार गर्न आवश्यक रहेको छ । अनधिकृत रुपमा भएको व्यापारलाई रोक्न पनि हामी तयार छौं । नीतिगत क्षेत्रको सुधार गर्न निजी क्षेत्रको सल्लाह र सुझावलाई सम्बोधन गरेर लैजान्छौं ।’
सोही कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले करदाताको संख्या दोब्बरले बढेपनि करको दायरा भने बढ्न नसकेको बताए । यसका साथै उनले ग्रे मार्केटको व्यवसायलाई पनि करको दायरामा ल्याउनुपर्ने उनले धारणा राखेका थिए ।
उनले भने, ‘राज्यको सञ्चालनको मुख्य स्रोत कर नै हो । राजस्व संकलनमा सुधार गर्नका लागि ग्रे मार्केटको व्यवसयालाई पनि करको दायरामा ल्याउनुपर्छ । फुटपातमा व्यवसाय गर्नेलाई कारवाही गर्ने होइन । उनीहरुसँग बिल बिजक खोजी गर्नुपर्छ ।’ साथै उनले करदातालई केन्द्रमा मात्र नभई स्थानीय तहमा पनि सम्मान गर्नुपर्ने बताए । साथै बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता अभाव र बढ्दो ब्याजदरले पनि आर्थिक सुचक कमजोर बन्दै अध्यक्ष मल्लको भनाई छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बढ्दो ब्याजदरका कारण राजस्व संकलनमा कमि आएको बताए । उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा कमि आएको छ । नीजि क्षेत्रको कमिले ह्रास आएको होइन । उद्योग व्यवसायमा समस्या र बढ्दो ब्याजदरका कारण राजस्व संकलनमा कमि आएको हो ।’
साथै उनले पछिल्लो समय उद्योगी व्यवसायीहरु धेरैले घरजग्गा लगानी गरेको बताए उनले भने, ‘पछिल्लो समय उद्योगी व्यवसायीहरु धेरैले घरजग्गा लगानी गरेका छन् । घरजग्गाको लगानी र शेयरकारोबारको संकुचनले पनि राजस्वमा कमि आएको हो ।’ अध्यक्ष अग्रवालले बैंकहरुको निष्क्रिय कर्जा बढ्ने सम्भावना भएकाले ब्याजदरको वृद्धिलाई कम गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रमका आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्यले आर्थिक क्षेत्रमा देखिएको संकुचनले भावी दिनमा अझै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘राजस्व संकलनमा कमि आएको छ । यस्तै अवस्था रहे आगामी वर्षमा राजस्व संकलनमा चुनौती पूर्ण हुनेछ ।’ राजस्व संकलनमा सुधान गर्नका लागि कर प्रशासन र निजी क्षेत्र सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस