aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

महासंघ अध्यक्ष गोल्छाको प्रश्न- राजस्व न्यायाधिकरण किन चाहियो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९

हामी देशलाई समृद्ध भएको देख्न चाहन्छौं । देशमा राम्रो विकास भएको देख्न चाहन्छौं । र, त्यो विकासका लागि राज्यसँग स्रोत हुन जरुरी हुन्छ । त्यसैले हामीले कर तिर्न आवश्यक छ । राज्य सञ्चालनको लागि कर संकलन प्रमख महत्वपूर्ण विषय हो । आज हामीले मनाइएको राष्ट्रिय कर दिवस हाम्रा लागि महत्वपूर्ण रहेको छ । म आफै पनि ३० वर्ष भन्दाबढी उद्योग व्यवसायमा लागेको व्यक्ति हुँ । ३० वर्षमा कर प्रणालीमा भएका सुधार र जुन कर प्रणालीको आधुनिक प्रविधिहरु आएको छ । यसको म आफै साक्षी रहेको छु । 

 म सम्पूर्ण करदाताहरुलाई र खास गरेर राष्ट्रसेवक कर्मचारीहरुलाई बधाई पनि दिन चाहन्छु । उद्योग वाणिज्य महासंघले सधै करको दर होइन दायरा बढाइदिनुस् भनेर सुझावहरु दिइरहेको छ । करको दायरा बढाउनका लागि हामीले आन्तरिक राजस्व विभागसँग सहकार्य पनि गरेका छौं । विभिन्न जिल्लाहरु महासंघले व्यापक कार्यक्रमहरु गरेर कसरी नयाँ करदाताहरुलाई कर प्रणालीमा संलग्न गर्न सकिन्छ भनेर यसका लागि हामीले कार्यक्रमहरु पनि गरेका छौं । यसको परिणाम पनि आएको छ । 

तर, त्यतिले पनि पुगेन यसलाई अझ व्यापक रुपमा कसरी करको दायरा बढाउन सकिन्छ । यसमा हामी लागि पर्नु पर्ने जरुरी छ । विभागलाई फेरी पनि आह्वान गर्न चाहन्छु । उद्योग वाणिज्य महासंघ जसको एउटा संरचना हरेक जिल्लामा रहेको छ र करको दायर बढाउनका लागि हामी  अझै सहकार्य गर्न चाहन्छौं । यसका लागि हामीले आफ्नो तर्फबाट के गर्नुपर्छ सल्लाह गरेर यो कार्यक्रमलाई गम्भिरतापूर्वक अगाडी बढाउनुपर्छ ।

उद्योग वाणिज्य महासंघले सधै भन्ने गरेको छ करलाई करले होइन रहरले तिर्ने वातावरण बनाऔं । हामी रहरले कर तिर्न चाहन्छौं । यसको एउटा प्रमाण दक्षिण एसिया कै कुल ग्राहस्थ उत्पादन (जीडिपी) र करको दर हेर्ने हो भने दक्षिण एसियामा नेपाल सबैभन्दा अगाडी रहेको छ । यसले नेपालको नीजि क्षेत्र कर तिरिर देश समृद्ध भएको हेर्न चाहन्छ भन्ने देखाउँछ । हामी  कर प्रणालीको नियमभित्र रहेर कर तिरेर आफ्नो जिम्मेवारी पुरा गर्न चाहन्छौं । तर, हामी रहरले कर तिर्न चाहँदा चाहँदै पनि समस्याहरु धेरै रहेका देखिएका छन् । 

धेरै जिल्लामा खासगरी साना मझौला उद्योगी र ठूला व्यवसायीहरुको गुनासो छ । आन्तरिक राजस्व विभागमा एउटा टार्गेटको सिस्टम बसालिन्छ । त्यो टार्गेट नपुग्दा धेरैपटक करदातालाई जबरजस्ती कर असुल्ने पनि भएको छ । महानिर्देशकज्यूलाई विनम्रताका साथ चुनौति दिन चाहन्छु । आन्तरिक राजस्व विभागले गरेका १० वटा निर्णयहरु गलत छन् । यसमा स्वतन्त्र अडिटर्सहरुलाई पनि राखौं । पुराना कर अधिकृतहरुलाई पनि राखौ । विभागले गरेका १० निर्णयहरु सहि छ भने हामी त्यसलाई स्वीकार गछौं । होईन भने त्यसलाई सुधार गर्नका लागि हामी अगाडि बढ्नुपर्छ । किनभने टार्गेट मिट गर्नका लागि मात्रै धेरैपटक यस्ता निर्णयहरु गरिएका छन् । 

हामी सबैलाई थाहा छ राजस्व असुली न्यायाधिकरणमा पनि ५० प्रतिशत पैसा तिरेर जानुपर्ने हुन्छ । र, राजस्व असुली न्यायाधिकरणबाट हामीले सही निर्णय गरेका भएता पनि हामीमध्ये समक्ष बाहेकले कुनै ठाउँमा गएर पनि हाम्रो गल्तीलाई सुधार गर्ने अवस्था हुदैन ।

हामीलाई राजस्व न्यायाधिकरण किन चाहियो ? जब शतप्रतिशत निर्णयहरु राजस्व न्यायाधिकरणबाट हुन्छ र जसमा आन्तरिक राजस्व विभाग हारेको हुन्छ । त्यो सबै निर्णयहरु आजसम्म चुनौती रहेको छ । जब एकै प्रकृतिको निर्णय भएको छ भने किन विभागले त्यसमा जानुपर्ने आवश्यक छ । नत्र राजस्व असुली न्यायाधिकरणको आवश्यक किन ? राजस्व असुली न्यायाधिकरण कुण्ठिएको रुपमा मात्रै रहने हो भने त्यसको कुनै अर्थ नै छैन । 

म विनम्र अनुरोध गर्न चाहन्छु । कर प्रशासन मात्र होइन प्रशासकीय सुधार पनि आवश्यक छ । कसरी करदातालाई कर तिर्न आकर्षित गर्न सक्छौं । त्यसमा ध्यान दिन जरुरी छ ।  नेपालका उद्योगी व्यवसायीहरु कर तिर्न चाहन्छन् । यसका प्रमाणहरु हामीसँग धेरै छन् । महानिर्देशकले चाहनुभयो भने म १० वटा निर्णयहरु लिएर आउन सक्छु । जसमा हामी छलफल गरौंं । जुन छलफलको निर्णयले करदाताहरु पनि उत्साहित हुन सकुन । जसले कर तिर्न चाहन्छ । निरुत्साहित भएर अब पनि सर्वोच्च र राजस्व असुली न्यायाधिकरणमै जाने हो भने किन यसमा टाउको दुखाई राख्ने भनेर निराश भएका छन् । यसमा ध्यान पुर्याउन जरुरी छ । 

पछिल्लो आर्थिक वर्षमा हामी राजस्व संकलनमा लक्ष्यको नजिक पुगेका थियौं । तर, यो वर्ष राजस्व संकलन गर्न कठिन रहेको छ । अहिलेको जुन आर्थिक अवस्थाबाट हामी गुज्रिरहेका छौं । यो हाम्रो व्यवसायिक जीवनको लागि एउटा अप्रत्याशित र कहिल्यै नभएको अवस्थाबाट गुज्रिरहेका छौं । यो अवस्थाबाट पार पाउनका लागि एक अर्कालाई दोषारोपण गर्ने र नकारात्मक सोचमा मात्र बस्यौं भने  समस्यालाई समाधान गर्न सक्दैनौं । 

तसर्थ सबै क्षेत्रका उद्योगी व्यवसायीहरु एक हुन आवश्यक छ । किनकी अवस्था एकदम गम्भिर भइसकेको छ । यति गम्भिर अवस्था भएको छ कि अब राज्य सञ्चालनका लागि राजस्व चाहिन्छ  त्यो पनि अब प्राप्त गर्न गाह्रो हुने देखिएको छ । हामी सबै एक ढिक्का भएर अगाडी बढ्न आवश्यक छ । त्यसमा नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसँगै बसेर केन्द्रीत भएर छलपल गरेर अगाडी बढ्न सकेनौ र यो समस्यालाई समाधान गर्न सकेनौ भने आउने समय कठिन हुने छ । 

अर्थतन्त्र शिथिल अवस्थामा पुगिसकेको छ । हरेक क्षेत्रमा ठूलो ह्रास आइरहेको छ । यो ह्रासको मुख्य कारण देशमा तरलताको अभाव हो । हामीले कसरी तरलतालाई प्रवाह गराउन सकिन्छ । भन्ने हाम्रो मुख्य लक्ष्य हुनुपर्छ । तरलता प्रवाह भएन भने उद्योग व्यवसाय चलायमान हुँदैन । उद्योग व्यवसाय चलायमान भएनन् भने कुनैपनि तरिकाले राजस्व उठ्दैन । राजस्व उठ्नसकेत भने राज्य सञ्चालन गर्न सकिदैन । यो समस्या उद्योगी व्यवसायीको होइन । तर, यो हामी सबैको समस्या पनि  हो । अहिले मुद्रास्फ्रिति १० प्रतिशतभन्दा माथि गइसकेको छ । 

राष्ट्र बैंकले मूल्य वृद्धिको कम डाटा देखाइरहेको छ । तर, म चुनौतिका साथ भन्छु अहिले मुद्रास्फ्रिति १० प्रतिशतभन्दा माथि गइसकेको छ । सर्वसाधारणले यसलाई कसरी धान्ने ? सरकारको राजस्वमा पनि कमि आएको छ । त्यस्तै नीजि क्षेत्रको कुरा गर्ने हो भने । हरेक क्षेत्रको व्यवसायहरुमा अप्रत्याशित रुपमा  गिरावट आइरहेको छ । यसले गर्दा अहिले खासगरी नीजि क्षेत्रको मनोबल खस्किएको छ । यस्तो बेलामा पनि आन्तरिक राजस्व विभागकले जुन सुधारका कुरा गरिरहेको  यो आवश्यक छ । 

नेपालको नीजि क्षेत्रलाई कसरी उत्साहित बनाउन सकिन्छ र कसरी लगानीको लागि प्ररित गर्न सकिन्छ भन्ने तर्फ सबै लाग्न पर्ने बेला भइसकेको छ । सबै क्षेत्रलाई प्रेरित गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्नेमा सबैले सोचौं । यसमा हामी सबै सरोकारवालाहरुसँगै मिलेर काम गर्न तयार छौं । अहिलेको यो संकटपूर्ण अबस्थामा एक अर्कालाई दोष दिने समय होइन ।

अहिलेको सबै क्षेत्रको अबस्था हेर्ने हो भने हामी झण्डै आपतकालिन अवस्थामा आईपुगिसकेका छौं । यो अवस्थामा हामीले एकअर्कालाई सहयोग गरेनौ भने आउने समय झन् कठिन हुने निश्चित छ । 

(राष्ट्रिय कर दिवस समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राखेको मन्तव्यको संम्पादित अशं )
 

प्रतिक्रिया दिनुहोस