aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गौर र भारतको बैरगनियाबीच सार्वजनिक यातायात सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ मंसिर २०७९
गौर र भारतको बैरगनियाबीच सार्वजनिक यातायात सञ्चालन

रौतहट । गौर(नेपाल) र बैरगनिया (विहार) रुटमा चल्ने तीनपाङ्ग्रे अटोरिक्साहरू आजदेखि निर्बाध रुपमा सञ्चालनमा आएपछि सर्वसाधारण हर्षित भएका छन् । गौर नगरपालिकाका प्रमुख शम्भु साहको पहलमा दुवै देशका बोर्डरमा चल्ने तीनपाङ्ग्रे अटोरिक्साहरूलाई व्यवस्थित गर्ने सम्झौता भएको हो । 

भारतीय अटोरिक्साहरू निर्बाध रुपमा गौर प्रवेश गरेर जिल्ला प्रहरी कार्यालयको पूर्वतर्फका ब्यारेक फिल्डमा पार्किङ गर्ने तथा नेपाली अटोरिक्साहरू बैरगनिया रेल्वे स्टेसनमा पार्किङ गर्ने सहमति भएपछि बिना रोकावट ओहरदोहर हुँदा लामो समयदेखि सर्वसाधारण यात्रुहरूले भोग्दै आएको समस्या समाधान भएको छ । 

कोरोना महामारी सुरु भएलगत्तै दुई देशबीच सवारी साधन आवतजावत गर्न बन्द गरिएको थियो । लामो समयपछि दुवै देशका स्थानीय प्रशासनको पहलमा निजी सवारी आउनेजाने क्रम सञ्चालन भए पनि यात्रुवाहक सवारी साधन सञ्चालनमा आएको थिएन ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनअघि नै यात्रुवाहक साधन सञ्चालनमा ल्याउने प्रक्रिया दुवै छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच गत कात्तिक २२ गतेदेखि सुरु गरिएको थियो । दुई देशको बोर्डरमा नेपाली र भारतीय सवारी साधन निर्बाध रुपमा सञ्चालन गर्ने सहमति भए पनि स्थानीय स्तरमा तालमेल नहुँदा सञ्चालन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस