
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले लिलामीमा विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म अवितरित १३ लाख ५२७ दशमलव ९९ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र मंसिर १४ गते खोली मंसिर १६ गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । कम्पनीको हकप्रद शेयर बाँडफाँटको अन्तिम मूल्य रू. १९५ रहेको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यस हकप्रद शेयर खरीदका लागि आवेदन दिएका आवेदकको बाँडफाँटमा नपरेको रकम मंसिर २० गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । हाल कायम चुक्तापूँजीको आधारमा कम्पनीले सो अवधिमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर जारी गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने ३८ हजार ५०५ जना शेयरधनीहरूलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद शेयर कात्तिक १७ गते बाँडफाँट गरी वितरण हुन नसकेको शेयर भने लिलामी विक्री गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ दशमलव ५० रहेको छ । अवितरित हकप्रद शेयर समेत निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ दशमल ५० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस