aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

छतमा लटरम्म फलफूल र तरकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
छतमा लटरम्म फलफूल र तरकारी
फाइल फोटो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको हुलाकचोकको दायाँतर्फ शान्ति टोल नपुग्दै बेनी नगरपालिका– ७ का पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको तीन तले घरको छत सिमी, गाजर, मुला, साग, खुर्सानी, बन्दा, काउलीलगायत तरकारी र अन्य एकदर्जन भन्दाबढी फूलले भरिभराउ छ ।

श्रेष्ठको घरको छत, व्यावसायिक किसानको करेसाबारीभन्दा कम छैन । छतमै तरकारी र फलफूल फल्न र फूल्न थालेपछि श्रेष्ठ दम्पतीलाई बाहिरबाट तरकारी किन्ने झण्झट छैन । म्याग्दी जिल्ला हुलाक कार्यालयको  प्रमुखसमेत रहनुभएकी साधना कुमारीले घरको छतलाई नै करेसाबारी र फूलबारी बनाएका हुन।

त्यसैगरी वीरेन्द्रचोककी सिर्जना भट्टचनको घरको छतमा मौसमी तथा बेमौसमी तरकारी फलिरहेका छन् । उनलाई तरकारी किन्न पर्दैन । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीबजारमा एक हजार दुई सयभन्दा बढी घर छन् । तीमध्ये अधिकांश घरमा कौसीखेती गरिएको छ ।

प्राङ्गारिक र विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमै बसेर तरकारीको स्याहार गर्दा आनन्द हुने भएकोले कौसीखेती उपयोगी भएको साधनाकुमारीले बताए । उनजस्तै बजारका ५० महिला र पुरुषले कौसी खेतीसम्बन्धी तालिम लिएर यो खेती गरेका हुन् । आफ्नो वडामा कौसी खेतीतर्फ गृहिणीको आकर्षण देखेर वडा कार्यालयले अघिल्लो वर्ष कौसीखेतीसम्बन्धी तालिम सञ्चालन गरेको थियो ।

समय कटाउन सजिलो र आफैले घरकै छतमा फलाएका ताजा तरकारी खान पाइने, पैसाको बचत हुने, घरको सुन्दरता बढ्ने र बाहिर निस्कन नपर्दा सङ्क्रमणबाट जोगिने भएकाले यहाँका गृहिणी कौसी खेतीतर्फ आकर्षित भएका हुन् ।

भान्छाबाट उत्पन्न फोहर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तसँग साझेदारीमा तालिम तथा आवश्यक साम्रगी खरिद गरी कौसीखेतीलाई व्यवस्थित गरेको पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । 

“बेनी बजारमा कौसी खेती निकै प्रभावकारी देखिएको छ,यसलाई चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने छ” अर्का पूर्ववडाध्यक्ष रमेशकुमार श्रेष्ठले भने । उनले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केटलगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीको सानो क्षेत्रमा घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने जानकारी दिए ।

भान्साबाट निस्कने फोहरलाई व्यवस्थापन गरी मल बनाउने विधि र कौसी खेतीसम्बन्धी तालिम प्राप्त गरेपछि काम गर्न सहज भएको बेनी बजारकी अर्की गृहिणी सोभिता श्रेष्ठले बताए । रासस

प्रतिक्रिया दिनुहोस