
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडले पुस २० गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर १६ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङक्वेट, थिरबम सडक, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजी रू. १ अर्ब २२ करोड ३२ लाख ११ हजारको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले उल्लेखित प्रस्ताव सहित लेखापरीक्षण समिति लगाएत अन्य उपसमितिहरुको बैठक भत्ता निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष कम्पनीले गत वर्षकै अनुपातमा लाभांश वितरण गर्न लागेको हो । गत वर्ष भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस