aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उखु किसानको समस्या जहाको त्यहि, चिनी मीलले मूल्य तोक्न मानेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
उखु किसानको समस्या जहाको त्यहि, चिनी मीलले मूल्य तोक्न मानेन

सर्लाही ।  यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसानहरु धमाधम बारी खालि गर्न थालेका छन् । उखु लगाएको बारीमा अन्य खेती लगाउन ढिला भइसकेकाले बारी खाली गर्न लागिएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणी मैनालीले आर्थिकन्युज डटकमलाई बताए । उनले भने, ‘खेतबारी खालि गर्न पर्ने भएकाले सक्खर उद्योग र उखु मिलसँग मूल्य नमिले पनि उखु बेच्न बाध्य भएका छौं ।’ जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखुको मूल्य निर्धारण गर्न चिनी मिलहरु नमानेपछि  सक्खर उद्योगलाई बेच्न थालेको अध्यक्ष मैनालीले बताए ।

जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन् । 

“इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट  सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा रहेका छन् । 

उनाँका अनुसार चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङ्गो नहुने कारणले किसानले खेतमा अर्को बाली पनि लगाउन पाएनन् । भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।

सरकारले यस वर्ष  छ सय रुपैयाँ प्रति क्विन्टल उखुुको मूल्य निर्धारण गरेको भए पनि जिल्लाका किसानले अहिले सक्खर उद्योगलाई प्रति क्विन्टल तीन सय ५० रुपैयाँका दरले उखु बेच्न थालेका मैनालीले बताए । चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखुु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको बसबरिया गाउँपालिका– २ का उखु उत्पादक किसान रामविलाश महतोले बताए ।

हाल भारतबाट आउने उखुमा पनि महगो भएकाले अब चिनी मिल सञ्चालन गर्ने हो भने नेपाली किसानहरुबाट उखु नकिनी उद्योग चल्ने अबस्था नभएको अध्यक्ष मैनाली बताउछन् । उनले भने, ‘ चिनी मिल सञ्चालकहरु उखु किसानसँग मूल्य निर्धारण गर्नका लागि छलफलमा बस्न नै तयारी छैनन्। तर, पनि छिमेकी देश भारतमा पनि उखु महगो भएकाले बाहिरबाट उखु ल्याउने विकप्प भने छैन ।’

नेपाल सरकारले पनि आम जनतालाई चिनी खुवाउने विकल्प बाहिर देखेकाले यो विषयमा गम्भिर नभएको मैनाली आरोप लगाउछन् । उनले भने, केपी शर्मा प्रधानमन्त्री भएका बेलामा राज्यमन्त्री भएका मोतिलाल दुगडले पाकिस्तानबाट तीन लाख टन चिनी सस्तोमा ल्याएरकाले सरकारले नेपाली किसानको उखुप्रति चासो नदेखाएको होला ।’
 

प्रतिक्रिया दिनुहोस