aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उपत्यका बाहिरका ठूला सहरमा पनि बिजुलीको तार भूमिगत गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
उपत्यका बाहिरका ठूला सहरमा पनि बिजुलीको तार भूमिगत गरिने

काठमाडौं । काठमाडौं उपत्यका बाहिरका ठूला सहरहरूमा पनि बिजुलीका तारहरू अब भूमिगत गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यका बाहिरका ठूला सहरहरूमा बिजुलीका तार भूमिगत गर्ने तयारी गरिरहेको छ ।   

नेपाल विद्युत् प्राधिकारणका प्रवक्ता सुरेशबहादुर भट्टराईले काठमाडौं उपत्यकाका जस्तै अन्य ठूला सहरहरूमा पनि बिजुलीको तारलाई भूमिगत गर्ने तयारी भइरहेको बताए । उनले आर्थिक न्युज डटकमसँग भने, ‘चितवन, विराटनगर, पोखरा, जनकपुर लगायत ठूला सहरहरूमा बिजुलीको तार भूमिगत गर्ने तयारीमा नेपाल विद्युत् प्राधिकरण लागेको छ । यसका लागि आवश्यक गृहकार्य गरिरहेका छौँ । फाइनान्सियल मोडालिटी समेत तयार गरिरहेका छौँ ।’ 

त्यस्तै उनले चाडै नै ठूला सहरहरूमा बिजुलीको तार भूमिगत गरिने बताए । काठमाडौंमा भइरहेको जसरी सुस्त गतिमा काम गर्नु हुँदैन भनेर नयाँ ढङ्गले कसरी काम सुरु गर्ने भन्नेबारे समेत प्राधिकरणले गृहकार्य गरिरहेको उनले जानकारी दिए ।  

प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युत् प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको बिजुलीको तार भूमिगत बनाउने काम सुस्त गतिमा भइरहेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षअघि महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका थिए ।  

काम सुस्त भइरहेकोबारे आफ्नो तर्क राख्दै प्रवक्ता भट्टराई भन्छन्, ‘यो बिस्तारै हुने काम हो । सोचेजस्तो रफ्तारमा बिजुलीको तार भूमिगत गर्न सकिँदैन । सडक विभाग लगायत सम्बन्धित क्षेत्रसँग अनुमति लिनु पर्ने हुन्छ । सडक, ढल, फुटपाथ एरिया सबैजसो व्यस्त हुन्छ । त्यहाँ निरन्तर काम गर्ने वातावरण पनि हुँदैन । यसले गर्दा पनि काम सुस्त हुने गर्छ ।’

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, पानी पोखरी, बुढानीलकण्ठ, टोखा, गोङ्गबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा बिजुलीको तार भूमिगत बनाउने काम सुरु भएको थियो । त्यस क्षेत्रमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको प्रवक्ता भट्टराईले बताए । 

प्राधिकरणका अनुसार रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने काम भइरहेको छ ।  

यसबाहेक अन्य स्थानहरुमा समेत बिजुलीको तार भूमिगत बनाउने काम प्याकेज अनुसार भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । उनले भने, ‘धेरै वटा प्याकेजमा हामीले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेका छौँ । रत्नपार्क वितरण केन्द्र, महाराजगञ्ज, कीर्तिपुर, बालाजु, पाटन, भक्तपुर लगायत ठाउँमा यो काम भइरहेको छ ।’  

उनका अनुसार महाराजगञ्ज क्षेत्रमा ६० प्रतिशत भन्दा बढी काम भइसकेको छ । रत्नपार्क वितरण केन्द्रमा करिब ४० प्रतिशत काम भएको छ । कीर्तिपुर बालाजु र भक्तपुर क्षेत्रमा भने करिब २५ प्रतिशत काम भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस