aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र आईपीओ विक्री खुला गर्न लागेको हो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरीसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।  पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयर शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । यी बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

लगानीकर्ताले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ते इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ । 

यस कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।

सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।


 

प्रतिक्रिया दिनुहोस