
भैरहवा । मुस्ताङमा उत्पादन भएका चिजवस्तुहरु भैरहवामा आइपुगेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङका सामग्री आएका हुन् । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर २ मार्फाका शंकरलाल विश्वकर्माले त्यहाँ उत्पादित अर्गानिक फलफूल तथा खानेकुराहरुलाई महोत्सवमा राखेका छन् ।
मुस्ताङका उत्पादन स्टल नम्बर १७२ मा पाइन्छ । त्यहाँ रातो मुरली मकै, स्याउको सुकुटी , आलु चिप्स, टिम्मुरको छोप, टिमुर, टिम्मुरको गे्रबी छोप, जिम्मु, एभ्रीकोट जाम (खुरपानी), खुरपानीको सुकुटी, बाटेको धुप , स्याउको मिठाई, मार्फाको ब्राण्डी, फे्रस च्याउ लगायतका खाद्य पदार्थहरु रहेका छन् ।
मार्फा ब्राण्डका उत्पादित चिजवस्तु बजारसँग जोड्ने र हिमालमा उत्पादितवस्तु सहरमा बसोबास गर्नेले पनि स्वादिन लिन पाउन भन्ने उद्देश्यले भैरहवा मेलामा स्टल राखेको सञ्चालक विश्वकर्माले बताए ।
मुस्ताङमा घरेलु उद्योग रहेको र त्यहाँ उत्पादित सामग्री मेला महोत्सव मार्फत बजारीकरण गर्दै आएकाले महोत्सवमा पहिलो दिन देखि व्यापार बढी रहेको बताए । मंसिर २३ गते देखि सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङको उत्पादन भैरहवा बासीले मन पराएको विश्वकर्माले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघले घरेलु उत्पादन, कुटिर उद्योग र कृषि उत्पादनलाई प्राथमिकता दिई सहुलियतमा स्टलहरु उपलब्ध गराएको छ । मेलामा मुस्ताङ देखि मर्चवार सम्मका उत्पादन राखिएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म न्यौपानेले बताए । मेलालाई व्यापारिक हिसाबले नभई प्रबद्र्धन गर्ने र आर्थिक चलायमान बनाउने उद्देश्यले मेला आयोजना गरिएको प्रचारप्रसार संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस