aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विदेशी उद्योगी तथा व्यवसायीले लगे ५४ अर्ब बढी लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ मंसिर २०७९
विदेशी उद्योगी तथा व्यवसायीले लगे ५४ अर्ब बढी लाभांश

काठमाडौं । विदेशी उद्योगी तथा व्यवसायीहरूले नेपालको उद्योग क्षेत्रमा गरेको लगानी प्रतिफलस्वरुप ५४ अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा विदेशी लगानीकर्ताहरूले लगानी प्रतिफल स्वरूप ५४ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नगद लाभांश लगेका हुन् । 

मुलुकको औद्योगिक क्षेत्रमा विदेशी लगानी सुहाउँदो वातावरण बनाउनु आवश्यक रहेको बताइ रहेको अवस्थामा उनीहरूले अर्बौँ रुपैयाँ लाभांश लैजान सफल भएका छन् ।    

राष्ट्र बैंकका अनुसार पछिल्ला तीन आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ७५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा २७ अर्ब सात करोड रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ नगद लाभांश उनीहरूले नेपालको उद्योग क्षेत्रबाट लगेका हुन् । आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार १५ भन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बङ्गलादेश लगायतका उद्योगी तथा व्यवसायीहरू रहेको बताइएको छ ।  

आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानी तथा ऋणसँग सम्बन्धित विभिन्न प्रकारका एक सय ८८ वटा फिर्ता भुक्तानीहरूका लागि कुल २२ अर्ब ५६ करोड रुपैयाँ बराबरको सटही स्वीकृति प्रदान गरिएको छ । अघिल्लो अर्थात् आर्थिक वर्ष २०७७/७८ मा सोही प्रकारका एक सय ६२ वटा फिर्ता भुक्तानीहरुका लागि कुल ३७ अर्ब २० करोड रुपैयाँ बराबरको सटही स्वीकृति प्रदान गरिएको थियो ।

विदेशी लगानी तथा ऋणसँग सम्बन्धित विभिन्न प्रकारका फिर्ता भुक्तानीमध्ये लाभांश फिर्ता बापतको भुक्तानीमा ३९ दशमलव छ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ का लागि १५ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । साथै, कुल फिर्ता भुक्तानीमा ठूलो अंश ओगट्ने अन्य दुई शीर्षकहरु ऋणको साँवा तथा ब्याज भुक्तानी र प्रविधि हस्तान्तरण बापतको भुक्तानीमा समेत क्रमशः २७ दशमलव तीन प्रतिशत र सात प्रतिशतले कमी आई समीक्षा वर्षमा दुई अर्ब २६ करोड रुपैयाँ र तीन अर्ब ५८ करोड रुपैयाँ फिर्ता गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल फिर्ता भुक्तानीमा ठूलो अंश ओगट्ने अन्य दुई शीर्षकहरू ऋणको साँवा तथा ब्याज भुक्तानी र प्रविधि हस्तान्तरण बापतको भुक्तानीमा समेत क्रमशः  समीक्षा वर्षमा तीन अर्ब ११ करोड रुपैयाँ र तीन अर्ब ८५ करोड रुपैयाँ फिर्ता भुक्तानी गरिएको छ ।   

विदेशी लगानीकर्ताहरूले प्रत्यक्ष विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुरुप लगानी प्रतिबद्धता जनाउने तथा विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ अनुरूप ऋण, लगानी, नगद लाभांश लैजाने लगायतका कामहरू गर्दछन् । 

प्रतिक्रिया दिनुहोस