aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मोलुङ्ग हाइड्रोपावरले पुस १९ गतेदेखि आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
मोलुङ्ग हाइड्रोपावरले पुस १९ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशतका दरको रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । त्यस्तै २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि, १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि र ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने १० प्रतिशत शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा विक्री गरिनेछ भने २ दशमलव ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र २ दशमलव ५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा विक्री गरिनेछ ।

समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीयका लागि विक्री अवधि छिटोमा माघ ३ गतेका लागि तय गरिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने स्थानीयले ढिलो अवधि माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत स्थानियसँगै वैदेशिक रोजगारमा रहेको नेपालीहरुले समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । कम्पनीले ओखलढुङ्गा जिल्लामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्नपीले २०७४ साल चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोडभन्दा बढी रहेको छ भने आयोजनाको कुल अनुमानित लागत रू. १ अर्ब ४५ करोडभन्दा बढी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस