
काठमाडौं । नयाँ सरकार बनेसँगै शेयरबजारमा उत्साह छाएको छ । जसमा हाइड्रोपावर कम्पनीहरुको पनि उत्साहजनक कारोबार भएको देखिन्छ । तर, हाइड्रोपावर कम्पनीहरुले विगतमा वितरण गरेको लाभांश हेर्ने भने त्यता तिर फर्केर पनि नहेर्नु जस्तो छ ।
त्यसो त ३२ सयको बिन्दुबाट नेप्से घटेर १८ सय बिन्दुमा आइपुग्दा धेरै गुमाउनेहरुमा हाइड्रोपावरमा लगानी गरेका लगानीकर्ताहरु नै रहेका छन् । बजार बढ्दा हाइड्रोपावरमा देखिएको अनपेक्षित उछाल प्रति संवेदनशिल नबन्दा लगानीकर्ताहरुको ठुलो रकम खोलाको पानीसँगै बगेको भर्खरैको विगत हो ।
उल्लेखित टिप्पणी त्यसै गरिएको होइन । हाइड्रोपावर कम्पनीहरुप्रति यतिको नकारात्मक बन्न सक्ने आधार यीनै कम्पनीहरुले वितरण गरेको लाभांशले दिएको हो । हाल नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत रहेका ६२ वटा कम्पनीहरु मध्ये १५ वटा कम्पनीले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका छन् । त्यो पनि अति न्युन मात्रामा ।
यस्तो छ, १५ कम्पनीले घोषणा गरेको लाभांश
हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर, चिलिमे जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, युनाईटेड इदी मर्दी, माउन्टेन इनर्जी, रिडी पावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् ।
त्यस्तै, बुटवल पावर कम्पनी, कालिका पावर कम्पनी, राधी विद्युत कम्पनी, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मन्दाकिनी हाइड्रोपावर र पाँचथर पावर कम्पनी रहेका छन् ।
नेप्सेका अनुसार लाभांश घोषणा गरेका कम्पनीहरुमा रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, अरुण काबेली पावर लिमिटेडले यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
त्यसैगरी, सानिमा माई हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, माउन्टेन इनर्जी नेपालले कर बाहेकको १०.५२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
चिलिमे जलविद्युत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७.५ प्रतिशतका दरले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशतका दरले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
नेप्सेका अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी ८.४२१ प्रतिशत लाभांश दिने दिने घोषणा गरेको हो । नेपाल हाइड्रो डेभलोपर लिमिटेड हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ०२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले यस वर्ष १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, रिडी पावर कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
नेप्सेका अनुसार बुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभां दिने भएको छ । त्यस्तै, कालिका पावर कम्पनीले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत, राधी विद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभां दिने भएको छ ।
त्यसैगरी, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ प्रतिशत बोनस र ०.०२६३ प्रतिशत नगद गरी कुल ५.०२६३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत नगद र पाँचथर पावर कम्पनीले ७ प्रतितश नगद लाभांश दिने भएको छ ।
अघिल्लो वर्षको पनि हालत उस्तै
यो साल मात्रै होइन अघिल्लो वर्ष पनि धेरै हाइड्रोपावर कम्पनीहरुले लाभांश वितरण गरेनन् । त्यसबेला जम्मा १२ वटा कम्पनीले मात्र लाभांश वितरण गरेका थिए । अहिलेकै जस्तो त्यसबेलाको वितरण गरेको लाभांश पनि अत्यन्तै न्युन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस