aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै

तनहुँ । नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आएका छन । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गर्नुभएका उहाँको फार्ममा हाल १९ हजार कुखुरा छन् । दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौतारिन पर्ने समस्या भएको सञ्चालक थापाले बताए ।

उनका अनुसार हालसम्म फार्ममा रु छ करोड बढी लगानी भएको छ । उनले भने, “फर्ममा  नौ जनाको परिवारले रोजगारी पाएका छन्”, व्यवसाय सञ्चालन गर्दा मासिक रु ३५ लाख खर्च हुने गरेको छ । उन्नाइस हजार कुखुरालाई दैनिक करिब रु एक लाख २० हजार खर्च हुन्छ । आम्दानी जति सबै  लगानीमा खर्चेर व्यवसाय वृद्धि गर्दै आएका छौँ”, उनले भने । 

करिब त्रिपन्न रोपनी क्षेत्रफलमा छवटा कुखुरा फार्म निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । फार्मसम्म जाने बाटो राम्रो नहुँदा ढुवानीमा ठूलो खर्च हुने गरेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्षलगायतको अनुगमन टोली पुग्दा व्यवसायका लागि बाटो सबैभन्दा समस्या रहेको जानकारी गराएको सञ्चालक थापाले बताए । चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद हुन्छ, तर यहाँसम्म ल्याउनका लागि ट्र्याक्टरको प्रयोग गर्नुपर्ने समस्याले गर्दा खर्च बढेको छ । अण्डा निर्यात पोखरा, काठमाडौँ र चितवनमा गर्दै आएका छौँ । उनले भने, “स्थानीय बजारले हाम्रो अण्डाको उत्पादनलाई थेग्न सक्दैनन् ।”
 
“चितवनको अबिनास हाइलाइन नेपालबाट चल्ला ल्याउँदै आएका छौँ । चल्ला हुर्काउन अत्यन्त जोखिम छ, निश्चित तापक्रम दिनुपर्दछ, यसका लागि खट्नुपर्छ, अथक मेहेनत र परिश्रम  भए पनि यस व्यवसायबाट खुसी छौँ”, उनले भने । 

फार्ममा भएको कुल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ । लामो समयदेखि आवद्ध भएको हुनाले फार्ममा नियमित कर्मले आफूलाई सन्तुष्टि मिलेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताए । व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै त्यो भन्दा बढी मलाई आत्मसन्तुष्टि मिलेको छ”, सञ्चालक थापाले भने । 

प्रतिक्रिया दिनुहोस