काठमाडौं । केही वर्ष अघिसम्म जुत्ताका ग्राहकहरू नेपाली उत्पादन भन्दा नाक खुम्च्याउने गर्थे । तर, केहिबर्ष यता स्थितिमा परिवर्तन आएको छ। उपभोक्ताको मन जित्दै अहिले स्वदेशी जुत्ता/चप्पलले नेपाली बजारमा आफ्नो प्रभुत्व जमाएको छ।
नेपाल मै छन् १५ सय उत्पादक
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अनुसार अहिले १ हजार ५ सय वटा जुत्ता उत्पादकहरू रहेका छन् । बि.स. २०७४ मा गरिएको अनुसन्धान अनुसार नेपालमा लघु, साना, मझौला र ठुला उद्योगगरि देशभर उल्लेखित सङ्ख्यामा जुत्ता चप्पल उत्पादकहरू रहेको पाइएको हो। जसमध्ये ठुला तथा मझौला २२९, साना तथा परम्परागत शिल्पीहरूमा आधारित १०७२ र हस्तकलामा आधारित २०० वटा उत्पादक रहेका छन् ।
५ वर्ष अघि ४ करोड ३९ लाख जोर जुत्ता/चप्पल उत्पादन गर्ने यी उद्योगहरू अहिले १५ करोड ६५ लाख जोर यस्ता सामग्री उत्पादन गरिरहेका छन्। हाल यस क्षेत्रका उद्योगहरूमा करिब ५५ हजार श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ । जसमध्ये प्रत्यक्ष रूपमा कार्यरत महिलाहरूको हिस्सा एक तिहाइ रहेको छ।
नेपालीहरूले वार्षिक रूपमा प्रति व्यक्ति सरदर ३ जोर विभिन्न प्रकारका जुत्ता चप्पल प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ । यस आधारमा हालको नेपालको जनसङ्ख्या तीन करोडलाई आधार मान्दा ९ करोड जोडी जुत्ता चप्पल आन्तरिक बजारको माग रहेको छ ।
अझै छ अत्यासलाग्दो आयात
आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ११ लाख ४६ हजार १११ जोर आयात र २७ लाख ६४ हजार ६४३ जोर जुत्ता निर्यात भएको थियो। त्यो भन्दा अघिल्लो आव २०७६/७७ मा आयात २ करोड २० लाख ८५ हजार ७६२ जोर थियो। यसरी हेर्दा त्यस बेला आव २०७७/७८ मा जुत्ताको आयात १ करोड ९० लाख ५७ हजार ३४९ जोरले वृद्धि भएको देखिन्छ ।
क्षमताको ३५ प्रतिशत मात्रै हुन्छ उत्पादन
उद्योगहरूको उत्पादन क्षमताको आधारमा हेर्दा हाल ३५ प्रतिशत क्षमतामा मात्र उद्योगहरू सञ्चालनमा आएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले विभिन्न समस्याका कारण नेपाली जुत्ता उद्योग पूर्ण क्षमतामा सञ्चालन हुने नसकेको बताए । उनले भने, ‘नेपालमा दश करोड जोर भन्दा बढी जुत्ताको खपत हुन्छ । पूर्ण क्षमतामा नेपाली उद्योग सञ्चालनमा आए भने करिब १६ करोड जोर जुत्ता उत्पादन गर्न सकिन्छ । तर, अहिले विभिन्न समस्याका कारण ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै उद्योग सञ्चालनमा छन् ।’
दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयात यसको प्रमुख कारण हो। त्यसमाथि न्यून बिजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई सकस परिरहेको छ । फलस्वरूप क्षमता भन्दा कम उत्पादन गर्न उद्योगीहरू बाध्य हुनु परेको छ । उत्पादन क्षमतालाई विश्लेषण गर्दा करिब ५ करोड जोर भन्दा माथि निर्यात गर्न सक्ने क्षमता छ, नेपाली फुटवेयर उद्योग क्षेत्रको
ग्रे मार्केट प्रमुख समस्या
नेपाली बजारमा ६५ प्रतिशत स्वदेशी जुत्ता चप्पलले बजार ओगटेको तर, चोरी पैठारीका कारण नेपाली उद्योगी समस्यामा रहेको घिमिरे गर्छन् । चोरी पैठारीका कारण नेपाली जुत्ता उद्योगहरू थलिएको बताउँदै उनले भने, ‘ग्रे मार्केटका कारण नेपाली जुत्ता उत्पादकलाई समस्या छ । चोरेर ल्याएको सात सयको जुत्ता दुई सयमा नै पाइन्छ । हाम्रो भन्दा सस्तोमा उनीहरूले बेच्छन् । यसो हुँदा हामीले उनीहरूसँग प्रतिस्पर्धा नै गर्न सक्दैनौँ ।’ उनको गुनासो छ, 'यो समस्या समाधानका लागि विभिन्न निकाय धाउँदा समेत समाधान भएको छैन ।'
गोल्डस्टार नामको चर्चित नेपाली ब्रान्डको जुत्ता उत्पादक किरण सुज म्यानुफ्याक्चर्स प्रणालीको मार्केटिङ एन्ड ब्राण्डिङ निर्देशक विदुषी राणा पनि चोरी पैठारीका कारण नेपाली जुत्ता उद्योगीहरू समस्यामा रहेको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘चोरी पैठारीका कारण नेपाली जुत्ता उद्योगीहरू समस्यामा छन् । चोरेर आएका जुत्तासँग हामी प्रतिस्पर्धा नै गर्न सकेनौँ । जबसम्म ग्रे मार्केटलाई बन्द गरिँदैन तबसम्म नेपाली जुत्ता उद्योग फस्टाउन सक्दैन ।’
सरकारले यस क्षेत्रलाई साथ दिने हो भने सबैभन्दा धेरै फस्टाउन सक्ने क्षेत्र नै जुत्ता उद्योग रहेको उनको तर्क छ । यस क्षेत्रको उद्योग विस्तार गर्न र निर्यात बढाउनका लागि सरकारले प्रोत्साहन गर्नु पर्ने उनले बताइन् । हुन पनि गोल्डस्टारले आफ्ना उत्पादन निर्यात समेत गरिरहेको छ । तर, त्यो निर्यात बढाउनका लागि उद्योगमैत्री वातावरण बन्नु पर्ने राणाको भनाई छ ।
सरकारले नीतिगत तहमा केही परिवर्तन गरिदिने हो भने जुत्ता उद्योगीहरूलाई राहत मिल्ने बताउँदै उनी भन्छिन्, ‘नेपाली जुत्ता उद्योगीहरूलाई सरकारले हेर्नु पर्छ । जुत्ता उद्योगी फस्टाउन सकेमा हामी आत्मनिर्भर हुन सक्छौँ । अरूको अगाडी हात फैलाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ ।’ उनले भर्खरै बनेको नयाँ सरकारले जुत्ताको चोरी पैठारी रोकी दिनुपर्ने माग राखिन् । यसका लागि ठाउँ ठाउँमा अनुगमन गरिदिने हो भने चोरी पैठारी घट्ने उनको तर्क छ ।
धेरै जसो ठुला र मझौला जुत्ता उद्योगहरू काठमाडौं, विराटनगर, वीरगन्ज, बुटवल र भैरहवामा रहेका छन् । वि.सं. २०७४ पछि उद्योगहरू स्थापना हुने क्रम बढ्दो छ । उद्यमीहरूको यस क्षेत्रमा लगानी ३० अर्ब भन्दा माथि छ भने ४ अर्ब भन्दा धेरै बैङ्क कर्जा रहेको छ ।
प्रतिक्रिया दिनुहोस