काठमाडौं । एक वाणिज्य बैंक सहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिभिल बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका हुन् ।
यी कम्पनीहरूले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने भएकाले पुस १८ गते सोमवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुने भएका हुन । सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै आइसिएफसी फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २० प्रतिशत नगद लाभांश करसहित र २ दशमलव ४० प्रतिशत बोनस शेयर वितरण गर्ने निणर्य गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।
पोखरा फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस