काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “भविष्य निधी (सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले उक्त योजना सार्वजनिक गरेका हुन् ।
त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले आइतबार कम्पनीको प्रधान कार्यालयमा संयुक्तरुपमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् ।
यस योजनामा बीमितले रु. १ लाखदेखि आय श्रोतको आधारमा जतिसुकै रकमको बीमाङ्क रोज्न सक्ने सुविधा छ । पाँचदेखि ३० वर्षे अवधिसम्मको लागी बीमा गर्न सकिने र बीमा अवधिको समाप्तीपछि बीमाङ्क रकम र बोनश एकमुष्ठ भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
यो बीमा योजनामा जोखिम बहनको गोल्डेन अप्शन रोजेको अवस्थामा बीमा प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमाङ्कको डेढ गुणा रकम र नियमानुसारको बोनश भुक्तानी गरिनेछ ।
त्यसैगरी डायमण्ड अप्शन रोजेको अवस्थामा बीमा अवधि प्रारम्भ भएको मितिबाट ३ वर्षपछि बीमितको निधन भएमा बीमाङ्कको डेढ गुणा रकम र पाँचं वर्षपछि निधन भएमा दुई गुणा रकम र नियमानुसारको बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ । यसबाहेक अग्रिम जोखिम बहन सुविधा रोजेको अवस्थामा गोल्डेन र डायमण्ड अप्शन दुबैमा बीमा प्रारम्भ मितिबाट नै जोखिम बहन शुरु हुनेछ ।
बीमितले गोल्डेन वा डायमण्ड अप्शनको साथै दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गता सुविधा, बीमाशुल्क छुट सुविधाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण(क्रिटिकल केयर) समेत समावेश गर्न सक्ने सुविधा छ ।
यसबाहेक तोकिएको अवधि पुरा हुनुभन्दा अगाडी बीमितलाई रकम खाँचो परेको अवस्थामा तीन वर्षको बीमाशुल्क भुक्तानी गरी बीमा प्रारम्भ भएको मितिबाट ३ वर्ष पुरा भएपछि बीमालेखको धितोमा कर्जा सुविधा समेत लिन सकिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस