aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कर्णालीमा समेत बढ्यो कृषि बीमाको आकर्षण

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • मंगलबार, १९ पुस २०७९
कर्णालीमा समेत बढ्यो  कृषि बीमाको आकर्षण

काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको दायरामा विस्तार भएसँगै बीमा कम्पनीहरुले सङ्कलन गरेको बीमाशुल्कमा समेत उल्लेख्य वृद्धि भएको छ। बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ८५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ६८ हजार ०३४ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

उक्त बीमाशुल्क कात्तिक महिनाको तुलनामा २२.३१ प्रतिशतले बढी हो । बीमा प्राधिकरणका  अनुसार गत कात्तिक महिनामा कम्पनीहरुले ५६ हजार ४३० वटा बीमालेख बिक्री गरी ६९ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

यसरी उल्लेख्य मात्रामा बीमालेख बिक्री बढ्नुको कारण किसानहरूमा बीमाप्रतिको जानकारी र चेतनाको वृद्धि रहेको नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, ‘सरकारले किसानहरूलाई अनुदान दिन्छ भन्ने थाहा पाएर पनि किसानहरू बीमा प्रति आकर्षित भएका हुन् । पछिल्लो समय किसानहरूलाई बीमा प्रति जानकारी भएर पनि बीमा गर्नेहरू बढेका हुन् ।’

एकातिर कृषि बीमामा आकर्षण बढिरहेको छ भने बीमा बापतको दाबी भुक्तानी र अनुदान रकम समयमा नपाएको गुनासो पनि उत्तिकै सुन्निन्छ। यस्तो गुनासो बीमा कम्पनी र कृषकहरू दुवैले गर्ने गरेका छन्। किसानहरू बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गर्ने गरेको बताउँछन्। उता बीमा कम्पनीहरू भने सरकारले समयमा नै अनुदानको रकम नदिएकाले आफूहरूलाई समस्या पर्ने गरेको भन्दै दुख मनाउ गरिरहेका छन्। तर, प्राधिकरणले भने समयमा कागजपत्र नपुगेको र आवश्यक कागजपत्र पुरा नभएका कारण दाबी भुक्तानीमा ढिलाइ भएको बताउँदै आएको छ ।

उपनिर्देशक श्रेष्ठ भन्छिन्, ‘दाबी भुक्तानीका विषयमा भने समयमा आवश्यक कागजपत्र आई नपुगेका कारण ढिलाइ भएको हो । केही पोलिसीहरुमा समस्या भएको छ । समस्या भएका केही घटनाहरू बाहिर आएका कारण दाबी भुक्तानीको समस्या देखिएको मात्र हो ।’

यस्तो छ प्रदेशगत अवस्था 

प्रदेशगत बीमाशुल्क सङ्कलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । प्राधिकरणका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क सङ्कलन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा २६ हजार ९१३ बीमालेख बिक्री गरी ३३ करोड ३९ लाख १६ हजार रुपैयाँ बीमाशुल्क जम्मा गरेका छन् ।

त्यस्तै, सोही अवधिमा बीमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट ९ हजार ९१५ बीमालेख बिक्री गरी ११ करोड ९६ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेस प्रदेशबाट ८ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले मधेस प्रदेशमा ५ हजार ३८ बीमालेख बिक्री गरी ८ करोड ९९ लाख ८५ हजार रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका हुन् ।

सोही अवधिमा  गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा बापत गरिने बीमाशुल्क बढेको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट ७ हजार ९९६ बीमालेख बिक्री गरी १२ करोड ९ लाख ६८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट १४ करोड ४३ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा १३ हजार ३६४ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

त्यसै गरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरू बढेका छन् । बीमा गर्नेहरू बढेसँगै बीमाशुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा दुई हजार १९१ बीमालेख बिक्री गरेका छन् । उक्त सङ्ख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले एक करोड ५० लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार कम्पनीहरुले यस अवधिमा सुदूरपश्चिम प्रदेशबाट ३ करोड २१ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा दुई हजार ६१७ बीमालेख बिक्री गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस