aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्काशनको लागि दुई कम्पनीले पाए बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० पुस २०७९
आईपीओ निष्काशनको लागि दुई कम्पनीले पाए बोर्डको अनुमति

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले दुई कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

बोर्डले बिपिडब्लु जलविद्युत कम्पनीलाई प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरको ९७ हजार कित्ता आईपीओ निष्कासनका लागि पुस ४ गते अनुमति दिएको हो । पुस ४ गते अनुमति दिएपनि बोर्डले पुस १९ गतेमात्र वेवसाइटमा सार्वजनिक गरेको हो । 

सगरमाथा जलविद्युत कम्पनीलाई बोर्डले प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरको ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । पुस १७ गते यस कम्पनीलाई बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो । बिपिडब्लु लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड र सगरमाथा जलविद्युत कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

हाल बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तर्फबाट चुक्ता भएको पूँजी २ करोड ३ लाख रूपैयाँ रहेको छ । आईपीओ पश्चात यस कम्पनीको चुक्तापूँजी ३ करोड रूपैयाँ कायम हुनेछ । त्यस्तै हाल ५७ करोड १२ लाख चुक्तापूँजी रहेको सगरमाथा जलविद्युत कम्पनीको स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पश्चात् चुक्तापूँजी १ अर्ब १२ करोड कायम हुनेछ ।

बिपिडब्लु लघुवित्तको संस्थापक तर्फ ६७ दशमलव ६७ प्रतिशत शेयर स्वामित्व संस्थापक तर्फ कायम रहेकोमा सर्वसाधारणमा ३२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्न लागेको हो । त्यस्तै सगरमाथा जलविद्युत कम्पनीमा संस्थापक तर्फ ५१ प्रतिशत शेयर स्वामित्व कायम रहेकोमा सर्वसाधारणमा ४९ प्रतिशत शेयर विक्री गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस