
काठमाडौैं । कालिञ्चोक दर्शन लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्थानीय बासिन्दाका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा पुस २० गते दुबै समूहका लगानीकर्तालाई आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता र आयोजना प्रभावित स्थानीयका लागि १ लाख २० हजार कित्ता आईपीओ विक्री गरेको थियो । १२ हजार स्थानीयलाई हालको न्यूनतम १० कित्ताको बाँडफाँट नीतिको व्यवस्थाबाट गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ । १५ हजार ४११ जना स्थानीयले आवेदन दिएकोमा २३१ जनाको आवेदन रितपूर्वक नपरेकाले रद्द गरिएको विक्री प्रबन्धकको भनाई छ ।
६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीबाट रितपूर्वक आवेदन प्राप्त गरी सबै आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो । यसरी हेदौ वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले बढीमा २० कित्तासम्म शेयर हात पारेका छन् ।
कम्पनीले गत मंसिर १४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रारम्भिर सार्वजनिक निष्कासनमा छुट्याईएको १० प्रतिशत आरक्षण यसै कम्पनीको आईपीओदेखि लागू भएको हो । कालिञ्चोक दर्शन दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस