काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । सुरुवाती दिनहरूमा स्वास्थ्य बीमाबारे नागरिकले चासो राखेका थिएनन् । तर, बीमा गरेपछि पाउने राहतबारे जानकारी पाएपछि ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दो रहेको छ ।
देशभर स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या ६२ लाख नाघेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या ६२ लाख ६ हजार ३९६ पुगेको हो ।
स्वास्थ्य बीमा गर्नेमा पुरुषको तुलनामा महिलाहरूको सङ्ख्या धेरै रहेको देखिन्छ । बोर्डको तथ्याङ्क हेर्ने हो भने अनुसार स्वास्थ्य बीमा गर्ने महिलाहरूको सङ्ख्या ३२ लाख २ हजार २५८ रहेको छ भने पुरुषको सङ्ख्या ३० लाख ३ हजार ३७७ रहेको छ । बीमा गर्ने अन्यमा ७६१ जना रहेका छन् ।
कुन प्रदेशमा कतिले गरे स्वास्थ्य बीमा ?
बोर्डका अनुसार हाल ७७ वटै जिल्लाहरूमा स्वास्थ्य बीमा लागु भएको छ । जसमध्ये प्रदेश १ मा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या १९ लाख ६० हजार १९४ रहेको छ । अन्य प्रदेशको तुलनामा यो सङ्ख्या सबैभन्दा बढी हो ।
त्यस्तै, प्रदेश नम्बर दुईमा ३ लाख ५२ हजार ९४७ जना, बाग्मती प्रदेशमा १२ लाख ४६ हजार ७८३ जना, गण्डकी प्रदेशमा ७ लाख ८१ हजार ५५४ जना रहेका छन् । त्यसै गरी लुम्बिनी प्रदेशमा ९ लाख ३८ हजार ४५९ जना, कर्णाली प्रदेशमा ३ लाख ५५ हजार ६ जना र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८६ हजार ३८४ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।
बोर्डको तथ्याङ्क अनुसार हालसम्म प्रदेश अनुसार २० लाख ४३ हजार ८२३ परिवार स्वास्थ्य बीमामा आबद्ध रहेका छन् । जसमध्ये प्रदेश नम्बर एकमा ६ लाख ३ हजार ७२२ परिवार, मधेस प्रदेशमा १ लाख ९० हजार ७५३ परिवार, बाग्मती प्रदेशमा ३ लाख ७९ हजार ५४८, गण्डकी प्रदेशमा २ लाख ८५ हजार ८४२ परिवार रहेका छन् ।
त्यसै गरी लुम्बिनी प्रदेशमा तीन लाख १३ हजार २२२ परिवार, कर्णाली प्रदेशमा एक लाख एक हजार ८३७ र सुदूरपश्चिम प्रदेशमा एक लाख ६८ हजार ८९९ परिवार स्वास्थ्य बीमामा आबद्ध रहेको तथ्याङ्कमा उल्लेख छ ।
कुन उमेर समूहका बीमित कति ?
स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार बीमा गर्ने बीमितहरुमा १५ देखि २९ वर्ष उमेर समूहका मानिसहरू सक्रिय रहेको देखिन्छ । हालसम्म यस उमेर समूहका २३.८ प्रतिशत अर्थात् १४ लाख ७९ हजार ८१४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
त्यस्तै, स्वास्थ्य बीमा गर्ने दोस्रो उमेर समूहमा ६० वर्ष माथिका वृद्धवृद्धाहरु रहेका छन् । हालसम्म यस उमेर समूहका २३.२ प्रतिशत अर्थात् १४ लाख ३८ हजार ९५४ बीमितहरु स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।
स्वास्थ्य बीमामा आबद्ध रहेका ४० देखि ५९ वर्षका उमेर समूहका १३ लाख ५८ हजार ६५३ जना अर्थात् २१.९ प्रतिशत रहेका छन् । बोर्डको तथ्याङ्क अनुसार हालसम्म १४ वर्षको उमेर समूहका १० लाख ६८ हजार ६३ अर्थात् १७.२ प्रतिशत र ३० देखि ३९ वर्षको उमेर समूहका ८ लाख ६० हजार ९१३ जना अर्थात् १३.९ प्रतिशत मानिस स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा बापतको २५ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको दाबी भुक्तानी गरिसकेको जनाएको छ । गत आवसम्म स्वास्थ्य बीमा बापतको २१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस