aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मिडियाकर्मीसँग बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
मिडियाकर्मीसँग बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

नयाँ दिल्ली । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बीवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ ।

 उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएका नेपाली पत्रकारहरुलाई नेल पेनेट्रेसन टेस्ट देखाउन गरिएको थियो । निकै ठूलो सुरक्षा विधि अपनाएर गरिएको परिक्षणमा बीवाइडी ब्लेड ब्याट्री निकै सुरक्षीत बनेको थियो । 

मिडियालाई देखाइएको परिक्षणमा एनसीएम ब्याट्री र बीवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो । सुरक्षीत डोम भित्र परिएको टेष्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । तर, त्यही प्वालपार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगोलाग्ने वा पड्कने केही भएन । 

बीवाइडी इन्डियाका नेशनल सेल्स हेड, प्यासेन्जर भेहिकल बिजनेश यूनिटका प्रमुख श्रीराङ जोशीले नेपालबाट गएका साइमेक्स इंक र मिडियाका प्रतिनिधिहरुलाई स्वागत गर्दै ब्याट्रीको विशेषताको बारेमा जानकारी दिएका थिए । उनले भने, ‘हाम्रो ब्याट्री सुरक्षा र रेन्जको लागि प्रसिद्ध छ, त्यसैले विश्वका धेरै गाडी निर्माताले प्रयोग गर्न चाहेका छन् ।’

ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो । जबकी अन्य एनसीएम ब्याट्री ३०० देखि ४०० डिग्री पुगेको थियो । तपक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुँवा भएन । तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो ।

निकै स्मार्ट र स्लीम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ ।

ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस