aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अपि पावरले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
अपि पावरले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । माघ २ गते अपरान्ह ३ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।

पुस २१ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्षको लागि प्रस्ताव गरेको ७ दशमलव ५ प्रतिशत बोनस शेयर पछि कायम हुने चुक्तापूँजीका आधारमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । 

कम्पनीको हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश वितरणका लागि विद्युत नियमन आयोगको स्वीकृति पाईसकेको कम्पनीले पूँजी बृद्धिका लागि थप ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीले प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि पहिलो चरणमा विद्युत नियमन आयोगको स्वीकृति लिई वार्षिक साधारण सभाबाट पारित गराउँनुपर्नेछ ।

दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिनुपर्नेछ । यी सबै प्रकृया पुरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको हो ।

प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस