काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले ६.८४ प्रतिशत लाभांश दिने प्रस्तावसहित कम्पनीको २१ औं साधारणसभा गर्न लागेको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने प्रस्तावसहित सो सभ ागर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले हुनआउने ६ करोड १७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशतका दरले हुन आउने ३२ लाख ५१ हजार ३६८ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको छ ।
उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले माघ २७ गते साधारणसभा बोलाएको छ । सो सभा गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजे हुनेछ ।
उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २० गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज गर्ने भएको छ जस अनुसार माघ १९ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस