aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पहिलो दिनमै कालिञ्चोक दर्शनको आईपीओमा मागभन्दा करिब ३ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
पहिलो दिनमै कालिञ्चोक दर्शनको आईपीओमा मागभन्दा करिब ३ गुणा बढी आवेदन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा ३ दशमलव ७६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार कार्यालय अवधिसम्म २ लाख ८२ हजार २६८ जना आवेदकहरूले ३३ लाख ७० हजार ८९० कित्ता शेयर खरीदको लागि आवेदन दिएका हुन । कम्पनीले सार्वजनिक निष्कासनमार्फत ८ लाख ९६ हजार ४०० कित्ता शेयर विक्रीमा ल्याएको हो । 

पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ छिटो अवधि माघ ६ गतेसम्म मात्र विक्रीमा रहनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने शेयर भाग्यमानी ८९ हजार ६४० जना योग्य आवेदकहरूले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पार्नेछन् ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरीे बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि  अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहबाट पनि आवेदन दिन सक्नेछन् । 

यस कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीले २०७५ कात्तिक १७ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालन गर्दै आएको हो । केबुलकारसँगै कम्पनीले होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगाएतका परियोजना सञ्चालन गर्न नेपाल सरकारबाट स्वीकृति पाएको छ । 

संस्थापक तर्फ ४८ करोड रूपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई आईपीओ जारी पछि चुक्तापूँजी ६० करोड रूपैयाँ कायम हुनेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४४ लाख ५८ हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ । गत आर्थिक वर्ष ०७८÷७९ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ५ करोड ११ लाख ६६ हजारभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार ७८ रूपैयाँ १५ पैसा प्रतिशेयर नेटवर्थ रहेको कम्पनी २ रूपैयाँ ५३ पैसा प्रतिशेयर नोक्सानी रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस