aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सगरमाथा जलविद्युत कम्पनीको पहिलो चरणको आईपीओ निष्कासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
सगरमाथा जलविद्युत कम्पनीको पहिलो चरणको आईपीओ निष्कासन

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले पहिलो चरणको आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । 

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर भने विदेशमा रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको हो ।

यो शेयर खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  अघिकतम कित्ताको हकमा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री मिति स्थानिय बासिन्दाहरुका लागि छिटोमा माघ १९ गते र ढिलोमा फागुन ५ गतेसम्मका लागि तोकिएको छ । माग बमोजिम आवेदन परेमा छिटो अवधि माघ १९ गतेसम्म मात्र स्थानीयमा शेयर विक्री गरिने विक्री प्रबन्धकको भनाई छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १९ गतेभित्र आवेदन दिनु पर्नेछ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन सम्बन्धी व्यवस्थाबाट समेत प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने नेपाल सि–आस्बा प्रणाली मार्फत मात्र आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको छ । 

प्रतिक्रिया दिनुहोस