aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माघ १८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै शुभम पावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
माघ १८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै शुभम पावर

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा आईपीओ विक्री तथा बाँडफाँट पछि सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । 

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । सर्वसाधारणका लािग छुट्याएको शेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको शेयर समेत थप भएको छ । कुल कित्ता शेयरमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । 

यो शेयर खरीदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ यस आयोजनाको कुल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ । 

प्रतिक्रिया दिनुहोस