aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मोलुङ्ग हाइड्रोपावरको आईपीओ खरीदका लागि पुनः म्याद थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
मोलुङ्ग हाइड्रोपावरको आईपीओ खरीदका लागि पुनः म्याद थप

काठमाडौं । पुस १९ गतेदेखि विक्रीमा आएको मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि पुनः म्याद थप भएको छ । कम्पनीले माघ ३ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि माघ १० गतेसम्मको अवधि थप गरेको थियो । पहिलो चरणमा म्याद थप भएको अवधिमा माग बमोजिम आवेदन नपरेपछि दोस्रो पटक माघ १५ गतेसम्मको अवधि थप गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने कम्पनीले माघ ३ गतेसम्म आवेदन माग गरेको थियो ।

कम्पनीले २ लाख ७२ हजार ८५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा भने जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत दरको रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर विक्री खुला गरेको हो । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरीएको १० प्रतिशत शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा विक्री गरिनेछ भने २ दशमलव ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र २ दशमलव ५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा विक्री गरिनेछ । लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

कम्पनीले ओखलढुङ्गा जिल्लामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ साल चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोडभन्दा बढी रहेको छ भने आयोजनाको कुल अनुमानित लागत रू. १ अर्ब ४५ करोडभन्दा बढी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस