aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सुपर मादी हाइड्रोपावरको आईपीओ खरीद गर्ने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
सुपर मादी हाइड्रोपावरको आईपीओ खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार बुधवारसम्म कम्पनीको आईपीओ खरीदका लागि करिब ७ गुणा आवेदन परेको छ । बुधवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ता शेयर खरीद माग भएको सिडिएससीले जानकारी दिएको हो ।

कम्पनीले सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको छ । 

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । यी बाहेक बाँकी रहेको शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागिएको हो ।

सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदिको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । २०७५ साल जेठ ८ गतेदेखि निरन्तर रुपमा यस आयोजनको निर्माण कार्य भरहेको छ । २०७८ साल जेठ २८ गतेदेखि यो आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य लिईएको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोभिड तथा बाढी पहिरोका कारण हालसम्म यस आयोजनाको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनको प्रतिमेगावाट लागत निर्माण अवधिको व्याज सहित १८ करोड ९७ लाख ७२ हजार ७२७ रूपैयाँ हुने अनुमान गरिएको छ । कुल लागत भने ८ अर्ब ३५ करोड रूपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।
 

प्रतिक्रिया दिनुहोस