
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यस वर्षको ५ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
कम्पनीले चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजारको आधारमा पहिलो पटक लाभांश वितरण गरेको हो । यस कम्पनीले गत साउनमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।
नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा गर्न सुरु गरिएकाले आफ्नो लाभांश जम्मा भए नभएको एकिन गर्न कम्पनीले भनेको छ । हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिक पछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेको दिनभन्दा अघिल्लो दिनसम्म शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूले नो अब्जेक्सन लेटर अर्थात बुक क्लोजको अघिल्लो दिनभन्दा पछि कर्जा चुक्ता गरेका सदस्यहरूले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाई छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम कम्पनीका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस