aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दाङकी वकी डाँगीः जो व्यावसायिक भैँसीपालन गरेर सफल महिला उद्यमी बनिन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
दाङकी वकी डाँगीः जो व्यावसायिक भैँसीपालन गरेर सफल महिला उद्यमी बनिन्

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ ।  छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिन्छिन् ।  

आठ वर्षदेखि भैँसीपालन गर्दै आएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न छन् । साथै उनले आफ्नो फार्ममा स्थानीय दुईजनालाई रोजगारी समेत दिएकी छिन् । डाँगी पशुपालन पेसाबाट सन्तुष्ट छिन् । 

“वार्षिक रू सात लाख बचत गर्ने गरेकी छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ”, उनले भनिन् । बिहानको मिर्मिरे उज्यालोसँगै उहाँको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फार्म’ दर्ता गरी व्यावसायिक रुपमा भैसीपालनको सुरुआत गरेकी थिइन । उनले भनिन, “सुरुमा रू एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ अहिले फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।” तीमध्ये १० वटा दुहुना भैँसी छन् । उहाँका अनुसार दैनिक ८० देखि ९० लिटरसम्म दूध तुलसीपुर बजारमा रहेको आफैँले डेरी उद्योगबाट बिक्रीवितरण गर्छन । 

कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भएपनि अहिले भने बजारको कुनै समस्या नरहेको डाँगीले बताइन् ।  “एक वर्षयता आफैँले  तुलसीपुर बजारमा डेरी उद्योग सञ्चालन गरेका छौँ, दाङमा दूधको फुटकर मूल्य रू ९० र दहीको रू एक सय प्रति लिटर छ, अहिले आम्दानी राम्रै भएको छ”, उनले भनिन् ।  

प्रतिक्रिया दिनुहोस