
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुको लागि न्यूनतम प्रतिहजार रू. २० देखि अधिकतम प्रतिहजार रू. ७० सम्म बोनसदर निर्धारण गरेको हो ।
कम्पनीले विभिन्न पाँच जीवन बीमालेख जारी गरेको छ । कम्पनीले जारी गरेको बीमालेखहरूमध्ये सावधिक तथा सामूहिक जीवन बीमालेख र सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा अधिकतम रू. ७० बोनसदर निर्धारण गरेको हो । दुबै बीमा अन्तर्गत ३० वर्ष वा सोभन्दा माथी अवधिको बीमालेखमा कम्पनीले प्रतिहजार रू. ७० बोनस दर कायम गरेको हो । अधिकतम बोनस दर रहेको सावधिक तथा सामूहिक जीवन बीमालेख १४६ र सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख १० ओटा विक्री भएको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा अधिकतम प्रतिहजार रू. ६३ बोनस दर निर्धारण गरेको छ । २५ देखि २९ वर्ष अवधिको बीमालेखमा कम्पनीले अधिकतम बोनस दर निर्धारण गरेको हो । अधिकतम बोनस दर रहेको यो बीमालेख ३७८ ओटा विक्री भएको छ । त्यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले अधिकतम प्रतिहजार रू. ६० बोनस दर निर्धारण गरेका छ । २५ देखि २९ वर्ष अवधिको यो बीमालेख सबैभन्दा बढी बोनस दर निर्धारण गरिएको हो । अधिकतम बोनस दर रहेको यो बीमालेख २ ओटा विक्री भएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख सबैभन्दा बढी १५ देखि १९ वर्ष अवधिको १ हजार ७७ ओटा विक्री भएको छ ।
कम्पनीले धन सरिता नामक वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख समेत विक्री गरेको छ । प्रतिहजार रू. २० बोनस दर निर्धारण गरिएको यो बीमालेख सम्पूर्ण बीमा अवधिका लागि निर्धारण गरिएको छ । कम्पनीका अनुसार हालसम्म यो बीमालेख ११ हजार ७२४ ओटा विक्री भएको छ ।
कम्पनीले निर्धारण गरेको यी वोनस दर मृत्यू दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने बताएको छ । आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि कम्पनीले निर्धारण गरेको यी नयाँ बोनस दर लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस