
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीद गर्ने मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि माघ १७ गतेभित्र मात्र विक्री खुला गर्न लागिएको हो ।
पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ खरीदका लागि सोमवारसम्म १० लाख ९९ हजार २११ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार यी आवेदकहरूबाट १ करोड २६ लाख १३ हजार ९७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ६ दशमलव ३३ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले जारी पूँजी रू. १ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । सर्वसाधारमा निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यसबाहेक पनि १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । कम्पनीले ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको सार्वजनिक निष्कासनमार्फत विक्री हुने आईपीओ १ लाख ९९ हजार २०० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले शेयर हात पार्नेछन् ।
यो आईपीओ विक्री अवधि छिटोमा माघ १७ गतेसम्म र ढिलो अवधि माघ २७ गतेसम्म तोकिएको छ । सर्वसाधारणमा आईपीओ जारी गर्दा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ छिटो अवधि माघ १७ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईपीओे निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४ दशमलव ९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस आयोजनाबाट फागुनको पहिलो हप्तादेखि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । हाल आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको भनाई कम्पनीको छ । यस आयोजनाको कुल निर्माण लागत ३ अर्ब रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १३ लाख रूपैयाँ रहेको छ ।
यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रूपैयाँ रहेको छ भने जारी पूँजी पनि १ अर्ब रूपैयाँनै रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ६६ करोड कायम रहेको छ । कम्पनीमा संस्थापक तर्फ कुल जारी पूँजीको ६६ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल ३४ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा २४ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस