aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
एशियन हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि बिक्रीमा

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ । 

कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख  बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।

त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी  १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ । बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

कम्पनीको आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा फागुन २ गतेसम्म विक्री गरिने यो आईपीओ सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा फागुन १२ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ छिटो अवधि फागुन २ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सि–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

यस कम्पनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने  प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ ।

हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस