
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले माघ १८ गते सुचना जारी गर्दै स्थानीयमा फागुन ४ गतेसम्म विक्री खुला गर्ने बताएको थियो । स्थानीयबाट माग बमोजिम आवेदन प्राप्त हुन आएकाले माघ १९ गतेसम्म मात्र विक्री खुला गरिने जानकारी कम्पनीले दिएको हो ।
कम्पनीले माघ १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रूपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री खुला गरेको हो ।
प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा विक्री गर्न लागिएको हो ।
स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबार गर्ने स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात १९ लाख ९९ हजार ५०० कित्ता छुट्याईएको छ ।
स्थानीयसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण निष्काशन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गरेकोे हो ।
शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय धुमबाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग,सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सन्राइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयबा आवेदन प्राप्त गर्न र बुझाउँन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यहि आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ ।
हाल आयोजनको ७४ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ । २०८० साल भदौ २६ गतेदेखि यस आयोजना निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
प्रतिक्रिया दिनुहोस