
काठमाडौं । पछिल्लो समय कृषि तथा पशुपन्छी बीमा व्यवसायमा उल्लेख्य वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म कृषि तथा पशुपन्छी बीमामार्फत विभिन्न बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क सङ्कलन गरेका छन् ।
तथ्याङ्क अनुसार साउन महिनादेखि पुससम्म आइपुग्दा बीमा शुल्कमा ४१७.६२ प्रतिशतले वृद्धि देखिएको हो । जबकि साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट १६ हजार ४६४ वटा बीमालेख बिक्री गरी २१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । उक्त बीमाशुल्क पुस मसान्तसम्म आइपुग्दा एक अर्ब ९ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीहरुले ८२ हजार ७४६ बीमालेख बिक्री गरेका छन् ।गत आवको सोही अवधिको तुलनामा गर्दा पनि कृषि बीमा व्यवसायमा ४१८.३५ प्रतिशतले वृद्धि भएको देखिएको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट २१ करोड ८ लाख रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरेका थिए ।
कुन प्रदेशमा कतिले गरे कृषि बीमा
प्रदेशगत बीमाशुल्क सङ्कलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । प्राधिकरणका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा ३२ हजार ७४९ बीमालेख बिक्री गरी ४४ करोड ९९ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सोही अवधिमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट ११ हजार ७४२ बीमालेख बिक्री गरी १४ करोड ४१ लाख ६० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेस प्रदेशबाट ११ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशबाट ६ हजार १३ बीमालेख बिक्री गरी ११ करोड ३५ लाख १० हजार रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका हुन् ।
प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा बापत गरिने बीमा शुल्क बढेको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट ९ हजार ७९९ बीमालेख बिक्री गरी १५ करोड ३ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।
त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट १७ करोड ५८ लाख ९२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले यस अवधिमा १६ हजार ४५४ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
त्यसै गरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरू बढेका छन् । बीमा गर्नेहरू बढेसँगै बीमाशुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा २ हजार ९२९ बीमालेख बिक्री गरेका छन् । उक्त सङ्ख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले १ करोड ९४ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
प्राधिकरणका अनुसार कम्पनीहरुले यस अवधिमा सुदूरपश्चिम प्रदेशबाट ती करोड ९३ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले सो प्रदेशमा यस अवधिमा ३ हजार ६० बीमालेख बिक्री गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस