aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एग्रिटेक प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्याउँछः मन्त्री शाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
एग्रिटेक प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्याउँछः मन्त्री शाह

काठमाडौं । भरतपुर/मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहले उक्त आयोजनाको उद्घाटन गरेकी हुन् । 

प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व कृषि तथा पशुपंक्षी विकास मन्त्री शाहले देशको समग्र अर्थतन्त्रको हिंसा ओगटेको कृषि प्रधान देश नेपालमा कृषिसँग सम्बन्धि प्रदर्शनीहरुले निकै ठूलो महत्व राख्ने बताइन् । 

उनले यस्ता प्रविधियुक्त प्रदर्शनीहरुले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यवसायिक कृषिसँग काम गर्दै आएका कृषकहरुलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले प्रदर्शनीमा रहेका अधिकांश कृषि सम्बन्धित स्टलहरुमा पुगी सम्बन्धित सरोकारवालाहरुसँग कृषिसँग सम्बन्धित उपकरणहरुको बारेमा जानकारी लिएकी थिइन् । 

सोही अवसरमा प्रदर्शनीको अवलोकन गर्दै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुशवाहा, कन्सुल जनरल भारत बिरगञ्जका प्रमुख नितेश कुमार, इसोचामका सहायक निर्देशक मनाङ्क शर्मा लगायतले यस्ता खाले प्रदर्शनीले वास्तविक कृषकहरुको मर्म, भावना समेटन सक्ने भएकोले प्रदर्शनी निकै फलदायी भएको बताएका थिए । 

यसैबीच प्रदर्शनीको अवलोकन पश्चात चितवन उद्योग संघको आयोजनामा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहसँग कृषि उद्यमशिलता सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । 

माग २९ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थाको रुपमा रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस