
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
कुल कित्तामध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी – ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीको भनाई छ ।
साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको १ लाख ८ हजार ८११ कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका लागि निष्कासन हुनेछ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २५ गते र पर्याप्त आवेदन नभपरेमा भने ढिलोमा चैत ७ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ । आईपीओ निष्कासनका लागि गराईएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूसँगै तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै मरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यस कम्पनीले दैलेख जिल्लामा ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस