aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यस्तो रहेछ हिरो मोटोकर्प र ज्योति ग्रुपबीचको विवादको भित्री कुरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ फागुन २०७९
यस्तो रहेछ हिरो मोटोकर्प र ज्योति ग्रुपबीचको विवादको भित्री कुरो

काठमाडौं । नेपालमा हिरो मोटरसाइकल बिक्री गर्दै आएको ज्योती ग्रुप सम्बद्ध आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजिएम) र उत्पादक हिरो मोटोकर्पबीचको विवाद उत्कर्षमा पुगेको छ । सो कम्पनीका बिक्री व्यवस्थापकहरूले नाफामा अतिरिक्त र्‍याल चुहाएपछि यो विवाद उत्पन्न भएको हो ।  

ज्योती ग्रुप सम्बद्ध स्रोतका अनुसार अहिले सो विवादलाई मलजल गर्न केही नेपाली अन्य घरानाहरू समेत लागि परेका छन् । विशेषगरि नेपालभन्दा विदेशतिर नै धेरै लगानी रुचाउने घरानाहरूले समेत यसमा भित्रभित्रै चलखेल थालेको बताइन्छ । 

तर, हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. प्रेमकान्त मुन्जालको जानकारीमा नपुगुन्जेल मात्र यो विवाद रहनेमा ज्योती ग्रुप विश्वस्त देखिएको छ । विवाद सुरु भएको दुई महिना यता ज्योती ग्रुपले मुन्जालसंग भेटघाट र संवाद गर्न नपाएका कारण मात्रै समस्या जस्तो देखिएको सो समूह स्रोतको भनाई छ । 

के हो विवादको चुरो ? 

नेपालमा हिरो मोटरसाइकल बिक्री गर्दै आएको आधिकारिक बिक्रेता एनजिएमले धेरै नाफा कमाएको र सो को ठूलो हिस्सा अब उप्रान्त आफूलाई दिनु पर्ने प्रस्ताव करिब दुई महिनाअघि हिरो मोटोकर्पका बजार प्रतिनिधिले राखे । उनीहरूको तर्क थियो, ‘तिमीहरूले धेरै कमायौँ, हामीलाई दिने नाफा बढाउनु पर्‍यो ।’ 

यसरी विगत ३५ वर्षदेखि लगिरहेको भन्दा १७/१८ प्रतिशत बढी मुनाफा मोटोकर्पले मागेपछि एनजिएमले सो प्रस्ताव स्वीकार गरेन । मोटोकर्पका बजार प्रमुखहरूले भने एनजिएमले सबै सोरुम र बिक्री तथा मर्मत केन्द्रहरूसमेत आफ्नै भवनमा चलाएको हुनाले भाडाको मूल्य मात्र जोडेर अन्य नाफा पुरै दिनु पर्ने दलिल जारी राखेका छन् । 

यता एनजिएम भने व्यापारमा हुने लगानी, बीमादेखि सो को ब्याज र डिप्रिसिएसन खर्च समेत गर्दा ठूलो नाफा नै नबच्ने भन्दै विगतकै अनुपातमा नाफा दिने अडानमा छ । निहुँ खोज्ने पाराले जम्मा एउटा मोटरसाइकलमा तीन चार सय रुपैयाँको घरभाडा मात्रै जोडेर बाँकी सबै पैसा मोटोकर्पलाई नै तिर्नु पर्ने भन्ने सर्त व्यवहारिक र व्यावसायिक दुबैरुपले स्वीकार गर्न नसकिने ज्योती समूहको भनाई छ । 

स्रोतका अनुसार ज्योती समूहलाई दबाब दिनका लागि मोटोकर्पले अटो मोबाइल्समा राम्रो व्यापार गरिरहेका नेपालका केही स्थापित व्यावसायिक घरानाहरूलाई समेत सम्पर्क गरेका थिए । तर, देशभर सय भन्दा बढी सोरुम, सर्भिस सेन्टर र आफ्नै एसेम्ब्लिङ प्लान्ट समेत राखेको ज्योती ग्रुपबाट सिधै डिलरसिप खोलेर त्यही स्तरको सेवा र व्यापार दिने आट कसैले गर्न नसकेपछि यो विषय अहिले थोरैतिनो दाम लिएर सुल्झाउने पक्षमा ती व्यापार प्रतिनिधिहरू लागिपरेको स्रोतले बताएको छ । 

ज्योती समूहले कुनै पनि हालतमा विगतभन्दा झन्डै २० प्रतिशत बढी मुनाफा दिनु पर्छ भन्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेपछि दबाबमा परेका बिचका दलालीले अहिले ज्योती समूह र मोटोकर्पका मालिक मुन्जालबीचको संवादलाई छेक्ने प्रयास गरिरहेका छन् । तर, सो प्रयास लामो समय नटिक्ने दाबी गर्दै कोरोनाकालमा समेत आफूहरूले ७० हजार भन्दा बढी थान मोटरसाइकल बिक्री गरेर मोटोकर्पलाई नै एउटा गर्विलो इतिहास पेस गरेको उनीहरूको भनाई छ । 

एनजिएम यसकारण छ ढुक्क 

त्यसो त अहिले आर्थिक मन्दी र अर्थतन्त्रमा अनपेक्षित सिथिलता आइरहेका बेला पनि एनजिएमले ३५ हजार थान वार्षिकरुपमा मोटरसाइकल बेचिरहेको छ । यो संख्यामा मोटरसाइकल बेच्ने न कुनै अन्य घरानासँग क्षमता छ न आँट । त्यसैले ज्योती ग्रुप आफूबाट डिलरसिप नखोसिनेमा ढुक्क देखिन्छ ।

एनजिएमले मोटोकर्पका व्यापार प्रतिनिधिहरूको गोजी भरिदिने हो भने आजको भोलि नै विवाद सकिने देखिन्छ । तर, अहिले पैसा दिएर उनीहरूलाई रिझाउने पक्षमा एनजिएम किन छैन भने मोटो रकम लिएपछि उनीहरूले जागिर छोडेर अर्कैतिर बाटो लाग्न सक्छन् । यही आशङ्कामा पनि नेपालका अन्य व्यापारिक घरानाले एनजिएमबाट खोसेर डिलसिप दिने हिरोको प्रस्तावलाई गम्भीरतापूर्वक नलिएको बताइन्छ । 

हिरोका व्यापार प्रतिनिधिहरूले डिलरसिप दिलाइदिने आकर्षक प्रस्ताव राख्दा आफूले अस्वीकार गरेको बताउँदै अर्का एक मोटर आयात कर्ता व्यापारीले आर्थिक न्युजसँग भने, ‘अहिलेको अवस्थामा पहिले नै घुस खुवाएर डिलरसिप लिने गल्ती कसले गर्ला ? यदि पैसा खाएर ती कर्मचारी अर्कै कम्पनीतिर हिडेभने न डिलरसिप पाइन्छ, न लगानी नै फिर्ता हुन्छ ।’

मोटोकर्पका मालिकसँग ज्योती समूहको पुरानो र निकट सम्बन्धका कारण पनि सो समूहबाट डिलरसिप खोस्ने आँट अन्य कुनै घरानाले नगर्ने अर्का एक मोटर आयातकर्ताको भनाई छ । उनले आफूहरू समक्ष पनि हिरोका प्रतिनिधिले प्रस्ताव पठाएको तर सो प्रस्तावमा चासो नराखेपछि ज्योती समूहलाई नै थप दबाब दिने रणनीतिमा उनीहरू लागिपरेको हुनसक्ने आशङ्का गरे ।  

ज्योती समूहलाई दबाब दिन मोटोकर्पका व्यापार प्रतिनिधिहरूले हुण्डाइका बिक्रेता लक्ष्मी इन्टकन्टिनेन्टल, मारुती सुजुकी बेच्ने सिजी होल्डिङ, फोर्ड गाडीको बिक्रेता गो फोर्ड र टाटाको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङ लगायत समक्ष प्रस्ताव अघि बढाएको समाचार स्रोतको भनाई छ ।  

इण्डियाको हिरो मोटोकर्पले हाल रहेको सम्झौता उलंघन गरेको र  एसेम्ब्लिङ प्लान्टबाट आउने नाफामा अत्याधिक लाभ लिन खोजेको लगायतका सर्तहरु राखेको एनजीएम स्रोतले बताएको छ । ज्योति समूहसँग बार्गेनिङ गरेको र एनजीएम त्यसका लागि तयार नभएपछि उसले एकपक्षीयरुपमा आधिकारिक बिक्रेताको सम्झौता तोडेको पत्र पठाएको थियो । उक्त पत्रप्रति विमति जनाउँदै ज्योति समूह अन्तरिम आदेशका लागि सर्वोच्च गएको थियो । 

ज्योति समूहको रिट निवेदनमा सर्वोच्चले आइतबार हिरो मोटोकर्पको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो । हिरो मोटोकर्पले अर्बौ रुपैयाँको सामान एनजीएम ट्रेडिङलाई बिक्री गरी रकम समेत लिई स्टकमा रहेको उक्त सामान बिक्री गर्न नपाउँदै सम्झौता नवीकरण नगर्ने जानकारी गराउँदा एनजीएमलाई अपुरणीय क्षति हुने देखिएकाले हिरो मोटोकर्पले एनजीएमसँग गरेको व्यवसायिक कार्य गर्न अवरोध नगर्ने र सम्झौता भंग गर्नेगरी भएको पत्राचार कार्यान्वयन नगर्नु भनी हिरो मोटोकर्पको नाममा सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस