
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज विहान आईपीओ बाँडफाँट भएको हो ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख २२ हजार ४९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९२० कित्ताको लागि आवेदन परेको थियो ।
कुल आवेदकहरूमध्ये ४ हजार १७२ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीे आवेदन परेकोले योग्य १३ लाख १८ हजार ३२० जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ ।
गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा ४१ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कुल आवेदकहरूमध्ये १२ लाख ८० हजारभन्दा बढीको हात खाली भएको छ ।
कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपिओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई विक्री गरेको छ ।
त्यस्तै ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई समेत बाँडफाँट गरिसकेको कम्पनीले २ प्रतिशत अर्थात १० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७५ साल कात्तिक ११ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज सहित रू. १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रहेको छ । आयोजनाको प्रति मेगावाट लागत भने रू. १९ करोड ८ लाख ४८ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस