aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एक सय ९१ जना विदेशी देश निकाला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
एक सय ९१ जना विदेशी देश निकाला

काठमाडौं । पर्यटक भिसा अवधि सकिएपछि पनि कतिपय विदेशी नागरिकहरु नेपालमा अनाधिकृत रुपमा बस्ने गरेका पाइएको छ । यसरी अनधिकृतरुपमा बस्ने विदेशी नागरिकहरुलाई सरकारले जरिवानासहितका शुल्क छुट दिएर देश निकाला गरेको हो ।

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा अर्थात कात्तिकदेखि पुषसम्म एक सय ९१ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ । मंसिर महिनामा मात्र २० जना विदेशीलाई निष्काशन गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न अपराधका कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ ।

देश निकाला भएका विदेशीहरुमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । यस अवधिमा ८५ जना चिनियाँ नागरिकलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै, पाकिस्तानी नागरिक १० जना, बेलायती नागरिक १२ जना, अमेरिकन नागरिक १२ जना र उज्बेकिस्तानी नागरिक ९ जनालाई यस अवधिमा देश निकाला गरिएको छ । 

८२ करोड राजस्व संकलन 

अध्यागमन विभागले कात्तिकदेखि पुष महिनासम्म ८२ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा ८२ करोड ९६ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा सबैभन्दा बढी भिसा शुल्कबाट राजस्व संकलन गरेको छ । यस शिर्षकमा विभागले ७२ करोड १३ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

त्यस्तै, पदयात्रा शुल्कबाट ८ करोड ६ लाख २९ हजार रुपैयाँ, प्रशासनिक सेवा शुल्कबाट १३ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ७५ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको अध्यागमन विभागले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस