aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्थानीयका लागि मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
स्थानीयका लागि मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्काशन गरेको हो । 

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ ।

कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यी वाहेकका संखुवासभा जिल्लाका बासिन्दाहरुमा विक्री गरिनेछ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा विक्री गर्नेछ । यस आधारमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा १ लाख ८ हजार ५१७ कित्ता शेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । 

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत ९ गते आईपीओ विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ ।

अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.३६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष बाँकी रहेको छ।


 

प्रतिक्रिया दिनुहोस