aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वैदेशिक रोजगारीमा गएका नेपालीमा आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भोलीदेखि सर्वसाधारणमा जारी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
वैदेशिक रोजगारीमा गएका नेपालीमा आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भोलीदेखि सर्वसाधारणमा जारी हुने

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर माघ १६ गतेदेखि फागुन २ गतेसम्म विक्री गरेको थियो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूमा फागुन ८ गते २० हजार ३३८ कित्ता शेयर बाँडफाँट गरिएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले दिएको जानकारी  अनुसार १० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने २ हजार ३३ जना आवेदकलाई १० कित्ताका दरले २० हजार ३३० कित्ता शेयर बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता शेयर २० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने ८ जनालाई एक एक कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ । 

पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बाँडफाँट पछि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो । 

सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा विक्री पछि अब ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

सर्वसाधारणले यो आईपीओ खरीदका लागि छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिनेछ ।

पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले पनि कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

साथै मेरो  शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस