aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६ हजार ५०२ जनाको आवेदन रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ फागुन २०७९
एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६ हजार ५०२ जनाको आवेदन रद्द

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्तालाइ विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतवार विहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । 

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १४ लाख ३२ हजार २२२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये ६ हजार ५०२ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । योग्य १४ लाख २५ हजार ७२० जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको थियो ।

कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । बाँडफाँटमा ६९ हजार ७२० जना भाग्यमानी आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । योग्य आवेदकहरूमध्ये पनि १३ लाख ५९ हजार आवेदकको हात खाली भएको छ ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ सार्वजनिक निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख  बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।

५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ ।

यस कमपनीले ईलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ भने  प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी छ । हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस