
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
कुल कित्तामध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । यी वाहेक बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा फागुन ३० गतेसम्म विक्रीमा रहने बताएको कम्पनीले सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १० गतेसम्म विक्री लम्बिने जानकारी दिएको छ । तर सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यहि आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । हाल आयोजनको ७४ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ । २०८० साल भदौ २६ गतेदेखि यस आयोजना निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
प्रतिक्रिया दिनुहोस