
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले माघ १५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने माघ २९ गतेसम्म मात्र आईपीओ विक्री गरिएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गरेको हो ।
त्यस्तै जारी पूँजी ७६ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । स्थानीयमा जारी हुने कुल कित्तामध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
यो आईपीओमा खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले आयोजना स्थलहरु, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरेको छ । ६ दशमलव ४ मेगावाट क्षमताको सुरिखोला जलविद्युत आयोजनाबाट २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु भएको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरिखोला आयोजनाबाट आगामी चैत्र ३० गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया दिनुहोस