aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माई खोला हाइड्रोपावरको आईपीओ फागुन २५ गतेदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ फागुन २०७९
माई खोला हाइड्रोपावरको आईपीओ फागुन २५ गतेदेखि विक्रीमा

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि पहिलो चरणको आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । 

त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।

यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयमा छिटोमा चैत ९ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म विक्री मिति तय गरिएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपि डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ । 
 

प्रतिक्रिया दिनुहोस