
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रवार विहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारमा २२ लाख ६४ हजार ६५५ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । सर्वसाधारणमा कम्पनीले फागुन ४ देखि १० गतेसम्म आईपीओ विक्री गरेको थियो ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपिओ खरीदका लागि कुल १४ लाख २४ हजार ३५१ जनाबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ता माग भएको थियो । कुल आवेदकहरूमध्ये रितपूर्वक नभएको भन्दै ७ हजार ५०० जनाको आवेदन रद्द गरिएको विक्री प्रबन्धकको भनाई छ । योग्य १४ लाख १७ हजार ३४६ जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको थियो ।
मागभन्दा बढी आवेदन पर्न आएकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमाबाट बाँडफाँट गरिएको हो । योग्य १४ लाख १७ हजार ३४६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई भाग्यमानी २ लाख २६ हजार ४६५ जना आवेदकलाई शेयर बाँडफाँट गरिएको हो ।
पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर यी आवेदकहरूमध्ये बाटै ५ जनालाई एक कित्ताका दरले बाँडफाँट गरिएको छ ।
कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने आउने रू. २७ करोड २८ लाख ५० हजार बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।
यी वाहेक २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएर बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभािवत स्थानीयमा समेत आईपीओ बाँडफाँट गरिसकेको छ ।
यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ४५ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २० करोडभन्दा बढी छ ।
प्रतिक्रिया दिनुहोस